पृथ्वी जयन्तीमा अष्ट्रेलियामा मनाइयो ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’

पृथ्वी जयन्तीमा अष्ट्रेलियामा मनाइयो ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइएको छ। पृथ्वी जयन्तीको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले‘ अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका हुन। अष्ट्रेलियाको सिड्नी, क्यानबेरा, एडिलेडलगायत सबै राज्यका प्रमुख सहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा विभिन्न कार्यक्रम गरेका थिए।

पृथ्वी जयन्तीमा सिड्नीमा खुला सार्वजनिक माल्यार्पण कार्यक्रम गरिएको थियो। सिड्नीको कार्यक्रममा सहभागीहरूले नेपाली धर्म, संस्कृति र ऐतिहासिक पहिचानका मानकको माध्यमबाट अष्ट्रेलियाको नेपाली समुदायलाई एकताबद्ध गर्न सकिने बताए। उनीहरूले अष्ट्रेलियामा हुर्किँदै गरेको पछिल्लो पुस्तालाई नेपाली इतिहास र पहिचान चिनाउन हिचकिचाउन नहुने धारणा राखे।  

अष्ट्रेलियाको नेपाली समुदायका स्वतन्त्र अभियन्ताहरूको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली समुदायका अगुवा मदनमणि अधिकारीले पृथ्वीनारायण शाहको नेतृत्व र अगुवाइमा आधुनिक नेपाल र नेपालीको पहिचान स्थापित भएकाले अष्ट्रेलियामा नेपाली दिवसका माध्यमबाट पृथ्वीनारायण शाहको सम्झना गरिएको बताए। 

नेपालमा भइरहेको राजनीतिक कित्ताकाट र दलका गुट उपगुटको राजनीति अष्ट्रेलियामा समेत आई पुग्दा अष्ट्रेलियाको नेपाली समुदाय नेतृत्वविहीन अवस्थामा पुगेकाले पृथ्वीनारायण शाह र नेपाली दिवस समुदायलाई जोड्ने बिम्ब बन्न सक्ने अधिकारीले अधिकारीको भनाइ छ।

‘यतिखेर अष्ट्रेलियाको नेपाली समुदायकै नेतृत्व गर्ने व्यक्तिको अभाव देखिन थालेको छ, नेपालका राजनीतिक दलको भातृ संगठनको समीकरणमा बन्ने र चुनिने नेतृत्व र संस्थाहरूले समुदायका व्यावसायिक व्यक्ति र विद्यार्थीलाई आकर्षित गर्न सकेका छैनन्, जसले गर्दा अष्ट्रेलिया बस्ने ठुलो नेपालीको संख्या संगठीत छैन, र गाह्रो साह्रो पर्दा नपाउनु पर्ने दुख भोग्नुपरेको छ’, उनले भने।   

अष्ट्रेलियाका युवा अभियन्ता तथा व्यवसायी डिला खरेलले नेपाल निर्माता मात्र नभएर पृथ्वीनारायण शाह नेपाली परिचय निर्माता समेत रहेको बताए। ‘अहिले हामी अष्ट्रेलियामा नेपाली भनेर चिनिनुमा पनि पृथ्वीनारायण कै योगदान रहेको छ’ उनले भने। वर्तमानको अपवाद छोडेर अहिले पनि विश्वको पुरानो र स्वतन्त्र राष्ट्रियताले हामीलाई विश्वको कुनै पनि कुनामा शिर उठाएर हिँड्ने अवस्था छ, र आउने पुस्तालाई समेत यस खालको ऐतिहासिक विरासत मिल्नु सबै भन्दा महत्वको विषय हो, उनले भने। 

कार्यक्रममा सहभागी युवा विद्यार्थी धर्वेन्द्र यादवले पृथ्वीनारायण शाहको योगदान नेपाललाई मात्र नभएर विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपालीलाई रहेको भन्दै, इतिहास जस्तै वर्तमान र भविष्य बनाउन संस्कृति र प्रविधीको क्षेत्रमा जोड दिनुपर्ने बताए। हालै नेपालबाट अष्ट्रेलिया आएका इन्जिनियर सन्तोष पोखरेलले नेपाली जहाँ भए पनि आफ्नो इतिहास र पहिचान भुल्न नहुने बताए। 

सिड्नीको कार्यक्रममा अष्ट्रेलियामा जन्मेहुर्केका बालबालिका समेत सहभागिता रहेको थियो। 

क्यानबेरामा क्रिकेट प्रतियोगिता
अष्ट्रेलियाको राजधानी सहर क्यानबेरामा बस्ने नेपालीहरूले पृथ्वीनारायण शाहको सम्झनामा क्रिकेट प्रतियोगिताको आयोजना गरेका थिए। सनातन समाज अष्ट्रेलियाले स्थानीय क्रिकेट क्लबहरूबीच प्रतियोगिताको आयोजना गरेर पृथ्वी जयन्ती मनाएको हो। टी–२० क्रिकेट प्रतियोगिताका रूपमा आयोजना भएको प्रतिस्पर्धामा ‘क्यानबेरा नेपलिज क्रिकेट क्लब’ विजेता भएको थियो। प्रतियोगितामा सुमित पडाल, संजय भट्ट, प्रशान्त विष्ट म्यानअफ द म्याच भए भने दिप्त रमन रिजाल बेस्ट फिल्डर भए। सनातन समाज अष्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले पृथ्वी जयन्तीको दिनमा नै औपचारिक कार्यक्रम गरेर पुरस्कार वितरण गरेको जानकारी दिए। 

राप्रपाको भातृ संगठनको एडिलेडमा चियापान 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठन प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाले एडिलेडमा पृथ्वी जयन्तीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापानको कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अष्ट्रेलिया भरका राप्रपाका सुभेक्षुक एवम् प्रवासी नेपाली एकता समाजका सदस्यहरूले पृथ्वीनारायण शाहको योगदान र त्यसबाट हरेक नेपालीले सिक्नुपर्ने पाठबारे चर्चा गरे। 

प्रवासी नेपाली एकता समाजका अजय राजवंशीले अष्ट्रेलियामा बस्ने नेपालीहरूले आफ्ना बच्चाहरूलाई किन आफू नेपाली हो र नेपालीको पहिचान के हो भन्ने सिकाउँदा पृथ्वी नारायण शाहलाई चिनाउन छुटाउन नहुने बताए।