प्रहरीको कुटाइबाट युवकको मृत्यु, छानबिन गर्न समिति गठन

प्रहरीको कुटाइबाट युवकको मृत्यु, छानबिन गर्न समिति गठन


काठमाडौं, २१ फागुन (रासस) । जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी)को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ ।
शनिबार बिहान १०ः१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति २३ः५० बजे नेपालगन्जदेखि जुम्ला जाँदै गरेको भे१क ९२२ नंको गाडीमा सवार थिए । यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको र जसका कारण हमालको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन थाले लगत्तै सुर्खेत प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी पाण्डेको संयोजकतत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिले तीन दिनभित्र घटनाको सत्य, तथ्य प्रतिवेदन पेस गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ’गठित समितिले घटना कसरी घट्यो र के भएको हो ? भन्ने विषयमा निष्पक्षरूपमा छानबिन गरी प्रतिवेदन पेश गर्नेछ’, उनले भने, ’यही विषयलाई लिएर शान्ति सुरक्षामा खलल पुग्ने खालका विभिन्न विरोधका कार्यक्रम नगरी छानबिन प्रक्रियामा सहयोग पु¥याउन सबैमा अपिल गरिएको छ ।’
प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्युपछि सुर्खेत तनावग्रस्त
मृतकका आफन्त कलमबहादुर हमालले प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको आरोप लगाए । उनले भने, ’गाडीको स्टाफलाई समेत दुईजना प्रहरीले कुटपिट गरेका थिए । उनीहरूलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।’ शनिबार बिहान सुर्खेत अस्पताल नपुग्दै हमालको मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालका अनुसार छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गर्न, प्रतिवेदनबमोजिम व्यक्ति दोषी देखिए कानुनी कारबाही गर्ने, यस कार्यलाई सहज बनाउन विरोधका कार्यक्रम रोक्ने र शव परीक्षणका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको छ ।