शुभारम्भ र हाम्रो प्रतिबद्धता !

शुभारम्भ र हाम्रो प्रतिबद्धता !


काठमाडौं ब्रोडकास्टिङ कर्पोरेसन अष्ट्रेलिया लिमिटेड मातहत आजबाट हामीले विधिवत केविसिखबरको शुभारम्भ गरेका छौं । अष्ट्रेलियामा रहेका एक लाखभन्दा बढी नेपालीभाषीहरुको साझा चौतारीका रुपमा यसलाई सामूदायिक गतिविधिहरुको गन्तव्यका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली भाषाको जगेर्ना, संरक्षण र सम्बद्र्धन हाम्रो पहिलो लक्ष्य हुनेछ ।

तेश्रो भनिने विश्वबाट आएका नेपालीभाषीहरुले अष्ट्रेलियाको भूमिलाई आफ्नो बनाउँदैगर्दा उनीहरुले आफ्नो कला, संस्कृति, भेषभूषा र रहनसहनलाई कसरी जगेर्ना गर्न सक्दछन् । कसरी यी परम्पराहरुलाई जीवित राख्न सक्दछन् र भविष्यका पुस्ताहरुमा हस्तान्तरण गर्न सक्नेछन् भन्ने चिन्ता सबैलाई छ । हामीले आफ्नो भाषा, रहनसहन र संस्कृतिलाई जगेर्ना गर्न नसक्ने हो भने कालान्तरमा हामी आफैं विलिन भएर जानेछौं । यसैकारण सञ्चारको माध्यमबाट समूदायको हितमा लागिरहने हाम्रो प्रतिबद्धता छ ।

आज नेपालीहरुको महान चाड दशैंको घटस्थापनाको दिन । २०७८ सालको विजया दशमीलाई स्वागत गरिरहँदा हामीले केविसिखबरको विधिवत शुभारम्भ गर्ने दिन पनि यसलाई बनायौं । अहिले हामीले बेटा भर्सनमा वेवसाईटलाई सार्वजनिक गरेपछि छिट्टै यसमा गर्नुपर्ने सुधारहरु सम्पन्न गरी पूर्णभर्सनमा यसलाई आम पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
गलत कामको विरोध, सही कामलाई प्रोत्साहन र सकारात्मकताको सम्बद्र्धन हाम्रो अभिष्ट हुने जानकारी यो पावन अवसरमा तपाईंहरु सामू राख्न चाहन्छौं ।

विजया दशमी आरम्भको यो अवसरमा तपाईंहरु सबैलाई शुभकामना ।