मार्च १२ बाट मेलबर्नमा कँडेल कन्सल्टेन्सी कप हुँदै, नकउट चरणमा प्रत्येक गोलको सय डलर !

मार्च १२ बाट मेलबर्नमा कँडेल कन्सल्टेन्सी कप हुँदै, नकउट चरणमा प्रत्येक गोलको सय डलर !

नकआउट चरणबाट प्रतिगोल एक सय डलर समेत खेलाडी प्राप्त गर्ने


मेलबर्न, अष्ट्रेलिया ।

विगत एक दशकभन्दा अघि देखि यति फुटबल क्लबको आयोजनामा सञ्चालन हुँदै आएको अष्ट्रेलियाव्यापी फुटबल प्रतियोगिताको एघारौं संस्करण आगामी मार्च १२ र १३ तारिख मेलबर्नमा आयोजना हुने भएको छ । कँडेल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा हुने प्रतियोगिताका विजेताले उपाधिसँगै ट्रफी र ४५ सय डलर अष्ट्रेलियन डलर जित्नेछ । यस्तै दोश्रो हुने टिमले दुई हजार डलर प्राप्त गर्नेछ ।
प्रतियोगितामा खुला उमेर समूहतर्फ २४ र ३५ वर्षमाथिको उमेर समूहमा ९ टिमको सहभागिता रहेको प्रतियोगिताका म्याच कमिश्नर सज्जन शर्माले केविसीखबरलाई जानकारी दिए ।

उनका अनुसार यस पटकको प्रतियोगितामा मेलबर्न, सिड्नी, क्यानबेरा, एडिलेड र तास्मानियाबाट फुटबल टिमहरु सहभागी हुँदैछन् । मेलबर्नको उत्तरी क्षेत्रमा अवस्थित उलर्टमा रहेको ब्लुबेरी रियल स्टेटमा गरिएको विशेष कार्यक्रममा समूह छनोट सम्पन्न भएको छ । जसमा समूह ए मा बेनी फुटबल क्लब, हिमालयन टाईगर, माछापुच्छ्रे फुटबल क्लब, एडिलेड ड्रागन फुटबल क्लब परेका छन् भने समूह बीमा सगरमाथा फुटबल क्लब, रोयल फुटबल क्लब, वेष्ट युनाईटेड फुटबल क्लब, नेपाल युनाईटेड फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै समूह सीमा यति फुटबल क्लब रातो, हिमालयन फुटबल क्लब, चन्द्रसूर्य फुटबल क्लब, नेप्लीज फुटबल क्लब तास्मानियाले प्रतिस्पर्धा गर्नेछन् । समूह डीमा दि राईजिंग गुर्खाज, युनाईटेड फुटबल क्लब, पारा पार्क फुटबल क्लब, गिरिश ईभेन्ट स्पोर्टिग क्लबले प्रतिस्पर्धा गर्नेछन् भने ग्रुप ईमा सेन्ट जर्ज फुटबल क्लब, क्रेगीबर्न ब्रिगेड, फेवा फुटबल क्लब, एडिलेड ड्रागन स्पोर्टस क्लबले सुरुवाती खेल खेल्नेछन् । यस्तै समूह एफमा यति फुटबल क्लब नीलो, रोयल वेष्टर्न, एडिलेड खुकुरी फुटबल क्लब र क्यानबेरा नेप्लीज फुटबल क्लबले प्रारम्भिक प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै फरएभर एंग अर्थात् ३५ वर्षभन्दा माथि उमेर समूहको फुटबल प्रतिस्पर्धामा ९ टिमको सहभागिता रहेको छ । समूह ए मा माछापुच्छ्रे फुटबल क्लब, फुटबल फर फन एण्ड फिटनेस, बेनी फुटलब क्लब, एडिलेड खुकुरी फुटबल क्लब रहेका छन् भने समूह बीमा यति फुटबल क्लब, क्रेगीबर्न ब्रिगेड, एभरेष्ट युनाईटेड, क्यानबेरा नेप्लीज फुटबल क्लब र पारा पार्क फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।

यो प्रतियोगिताको सञ्चालनका लागि फिफा मान्यता प्राप्त रेफ्री नेपालबाट आउँदैछन् । प्रतियोगितामा नकआउट चरणबाट प्रतिगोल एक सय डलर समेत खेलाडी प्राप्त गर्ने भएका छन् । यो राशीको प्रायोजन ब्लूबेरी रियल स्टेट मेलबर्नले गरेको हो । कार्यक्रममा बोल्दै यति फुटबल क्लबका अध्यक्ष राज शर्माले प्रतियोगितामा सहभागी भएका सबै क्लबहरुलाई धन्यवाद दिँदै प्रायोजकहरुको सहकार्यविना प्रतियोगिता असम्भव भएको बताएका थिए ।

उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र आफुहरु खेलाडीलाई स्वागत गर्न आतुर रहेको बताए । कार्यक्रममा मुख्य प्रायोजक कँडेल कन्सल्टेन्सीका राज कँडेलले खेल भावनाको प्रबद्र्धनका लागि आफुहरुले यति फुटबल क्लबसँग सहकार्य गरेको र यो सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाएका थिए । उनले सहभागी क्लब र खेलाडीहरुलाई धन्यवाद दिएका थिए । सबै खेलहरु मेलबर्नको थनबरीमा अवस्थित डरेविन स्पोटर्स सेन्टरमा खेलाइने भएको छ । अघिल्लो वर्ष प्रतियोगिता आयोजना गर्ने तयारी भएपनि कोभिड १९ कोरोनाको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।

मेलबर्नमा महामारीको बेला यति फुटबल क्लबले यहाँका विद्यार्थीहरुलाई दैनिक आवश्यक खाद्य सामग्रीहरुको वितरण गरेर उदाहरणीय कार्य समेत गरेको थियो ।