अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोरोना संक्रमण

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोरोना संक्रमण

कोरोना परीक्षणको नतिजा आएको बेला प्रधानमन्त्री राष्ट्रिय सुरक्षा कमिटीको बैठकमा सहभागी


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ कोरोना संक्रमण देखिएको छ । मंगलबार राति अबेर सार्वजनिक गरिएको विज्ञप्तिमा प्रधानमन्त्रीलाई कोभिडको पीसीआर परीक्षणमार्फत कोभिड लागेको पुष्टि भएको र केही ज्वरोको लक्षण देखिएको पनि जनाइएको छ ।

केही परीक्षणहरु देखिएपछि मंगलबार सिड्नीको ओपेरा हाउसमा आयोजना गरिएको युक्रेनको समर्थनको एक कार्यक्रममा प्रधानमन्त्रीले अन्तिम समयमा रद्द गरेका थिए । अबको एक साता उनी आईसोलेसनमा सिड्नीस्थित निवासमा बस्नेछन् ।

प्रधानमन्त्रीले विज्ञप्तिमा भनेका छन्, “मैले गत आईतबारदेखि हरेक दिनजसो आफैंले परीक्षण गरेको थिएँ । आज विहान पनि परीक्षण गरिएको थियो तर परिणाम नेगेटिभ आयो । केही लक्षणहरु कायमै रहेपछि र साँझबाट ज्वरोसमेत आएपछि मैले थप परीक्षण गर्दा कोरोना लागेका पुष्टि भयो ।”

कोरोना परीक्षणको नतिजा आएको बेला प्रधानमन्त्री राष्ट्रिय सुरक्षा कमिटीको बैठकमा सहभागी थिए । प्रधानमन्त्री मोरिसनले आईसोलेसनमा बसेका बेलामा पनि आफ्नो नियमित काम जारी राख्ने जनाएका छन् ।