प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत


काठमाडौं, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाउनुभएको छ । बुधबार प्रदेश २ को प्रदेश सभामा भएको मतदानमा उहाँले आवश्यक मत प्राप्त गर्नुभएको हो । राउतको पक्षमा ७७ मत परेको थियो । त्यस्तै, उहाँको विपक्षमा २३ मत परेको थियो । मतदानमा  १०० जना उपस्थित भएका थिए ।

राउतलाई उनको दल जनता समाजवादी पार्टी, कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले सघाएका हुन् । एकीकृत समाजवादीबाहेक अन्य दलहरु सत्ता साझेदारी गरिरहेका छन् । ती दलबीच केन्द्रमासमेत सत्ता गठबन्धन छ ।

प्रदेश २ का १०७ सांसदमध्ये अहिले १०४ जना मात्रै छन् । सबैभन्दा ठूलो दल जसपासँग ३९, कांग्रेससँग १९, लोसपासँग १६, एकीकृत समाजवादीसँग १३, माओवादी केन्द्रसँग ८, एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीसँग १ जना सांसद छन् ।

यसैबीच मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई बदनाम बनाउने प्रयास भैरहेको बताउनुभएको छ । प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारलाई बदनाम गर्न जालझेल गरेको आरोप लगाउनुभएको हो । उहाँले प्रदेश २ को सफल कार्यक्रम ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई विवादित बनाउन षड्यन्त्र भैरहेको बताउनुभयो । प्रदेश सभाबाट पारित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन भन्ने कुरा थाहा हुँदाहुँदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारको गरिमामाथि प्रहार गरेको उहाँको भनाई छ ।

मुख्यमन्त्री कार्यालयले प्रक्रिया पूरा गरी साइकल खरिद गरेको कागजात प्रदेश सांसदलाई देखाउँदै उहाँले आयोगले समन्वय गरेको भए आफै सबै कागजात उपलब्ध गराउने पनि बताउनुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारले वितरण गरेको साइकलले प्रदेशका छोरीको सुरक्षा र शिक्षामा सहयोग भएको दावी गर्नुभयो । उहाँले संघीय सरकारको उपेक्षा, कर्मचारीको असहयोग र जनशक्ति अभावका कारण प्रदेश सरकारका चर्चित अभियानहरु प्रभावित भएको आरोप पनि लगाउनुभयो ।