फरार पल शाहले गरे तनहुँ प्रहरीकोमा आत्मसमर्पण !

फरार पल शाहले गरे तनहुँ प्रहरीकोमा आत्मसमर्पण !


काठमाडौं ।
एक नाबालिकालाई जबर्जस्ती करणीको आरोप लागेका मोडल तथा अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका छन् । उनलाई विगत चार दिनदेखि प्रहरीले खोजी गरिरहेको थियो ।

विभिन्न ठाउँमा सर्च गर्दा समेत फेला नपरेका उनले आज विहान फेसबुकमार्फत प्रहरीमा जाने घोषणा गरेका थिए । विभिन्न व्यक्तिहरुले दिएको सुझावका आधारमा आफु प्रहरीकोमा जान लागेको उनले बताएका थिए । आफ्नो स्वास्थ्य तथा घर व्यवहार मिलाउनुपर्ने भन्दै उनले यति दिनसम्म फरार रहनुको कारण पनि दिन खोजेका छन् ।

यसभन्दा पनि बढी मेनुका थापाले एक पत्र नै लेखेर उनले प्रहरीमा आत्समर्पण गर्नु नै उत्तम हुने राय दिएकी थिइन् । बलात्कारी विरुद्धको अभियानमा लागेकी अभियन्ता थापाले आफ्नो सेल्टरमा रहेका पीडितहरुसँग उसको राम्रो सम्बन्ध रहेको भन्दै कानूनभन्दा कोही माथि नहुने भएकोले कानूनबाट न्याय मिल्ने अपेक्षा आफुले गरेको र आगामी दिनमा दोष प्रमाणित भएपनि नभएपनि उदाहरणीय बनेर देखाउन अनुरोध गरेकी थिइन् । यस्तो थियो मेनुका थापाको भनाई –

भगवानबाट त गल्ती हुन्छ भने मानिसबाट गल्ती हुनै नसक्ने होइन । यो कलियुगमा गल्ती नै नगर्ने कोही छैन । तर, गल्तीको प्रायश्चित गर्ने मानिसको खडेरी परेको अवस्थामा सबैको ‘रोल मोडल’ बन्ने अवसर पनि त हुन सक्छ यो घटना । जीवनमा समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई जन्म दिनु हो रे ।  त्यसैले मेरो प्रिय भाइ, सधैँ ख्याल गर्नुस्, जति कठीन संघर्ष हुन्छ– त्यति नै जित शानदार हुन्छ ।  भिडले हौसला त दिन्छ, तर पहिचान गुमाइदिन्छ । यो कलाकारिताको क्षेत्रलाई तपाईंले गर्नुभएको संघर्ष, दुःख र योगदानको हामी सधैँ प्रशंसक हौँ, रहिरहनेछौँ ।  यो केशको निष्पक्ष छानबिन भएर परिणाम आएको दिन यदि कानुनले तपाईंलाई दोषी नै ठहराएछ भने पनि त्यसबाट नेपाली समाजले ठूलो पाठ सिक्नेछ । तपाईकै आमाको कोखबाट जन्मिएकी बहिनीलगायत हजारौँ बहिनीको हौसला बुलन्द हुनेछ त्योबेलामा । भविष्यमा आइपर्ने कठिन परिस्थितिमा आवाज उठाउन सक्ने हिम्मत मिल्नेछ उनीहरूलाई ।
यदि कानुनले तपाईंलाई निर्दोष साबित गरिदियो भने पनि मनमा कुनै वैरभाव नराखीकन ती बहिनीको गिरेको आत्मबल उठाउन विशेष भूमिका खेल्नुहोला । किनकि उनी तपाईजस्तो संघर्षले खारिएकी, उमेरले परिपक्व व्यक्ति होइनन् । उनी ‘टीन एज’ मा छिन् । उनलाई मार्गनिर्देश गर्ने अभिभावकको खाँचो छ । विज्ञहरूले भन्ने गर्छन् – ‘यो उमेरमा भएका किशोर–किशोरीको मस्तिष्क पूर्णरुपमा विकसित भइसकेको हुँदैन । तसर्थ उनीहरूमा अपरिपक्व व्यवहार देखिइरहन्छ । स्वनिर्णय गर्न सक्ने क्षमता नभएकै कारण यो उमेरका भाइ–बहिनीहरू अरूको भरमा चल्ने गर्छन् ।  अरूको भरमा चल्दा अन्तत्वगोत्वा उनीहरूको जीवन बर्बाद हुन्छ ।
तसर्थ, तपाई–हामी युवा वा वयस्कहरूको सुन्दरता भनेको कमजोर अवस्थामा रहेकाहरूको मद्दत गर्नु पनि हो । अनि यो मानव चोला भनेको त प्यार, प्रेम, करुणा बाँड्नलाई हो । रिस, राग, घृणा फैलाउन होइन  । अझ तपाई र ती बहिनी त कलाकारिता क्षेत्र नामक  एउटै डुङ्गामा सवार व्यक्तित्व हुनुहुन्छ । ‘जुन गालामा थप्पड हाने पनि दुखाइ उस्तै हो भन्ने उखान जस्तै’ तपाईंहरू दुईमध्ये कानुनले जसलाई जिताए पनि कलाक्षेत्रको त लज्जास्पद हार नै हुनेछ ।
यसर्थ प्रिय भाइ ! अझै पनि केही बिग्रिएको छैन । जीवनका धेरै सवालहरू कोसिस नगरी सल्टिँदैनन् । तर, अहिले तपाईंलाई लागेको यो आरोप चानचुने आरोप होइन । यो संगीन आरोपलाई खण्डन गरेर, तर्क गरेर, आरोप–प्रत्यारोप गरेर झन् झन् उल्झिन्छ भन्ने बुझी कानुनले जे भन्छ, म भोग्न तयार छु भनेर मन दह्रो पारी कानुनी प्रक्रियामा आउनुहोला । जीवनमा अवसर र चुनौती सँगसँगै आउँछ रे । यो घटना तत्काललाई चुनौती लागे पनि यसबाट सिक्न सकिने जीवन दर्शनहरू थुप्रै हुन सक्छन् । एकपटक त्यतातिर पनि सोचेर लाखौंको ढुकढुकी ‘पल शाह’लाई करोडौँको ढुकढुकी बन्न सक्ने उत्प्रेरणा मिलोस् ।