नेप्लीज एशोसिएसन अफ भिक्टोरियामा विवाद, राजीनामा र असन्तुष्टिको लहर

नेप्लीज एशोसिएसन अफ भिक्टोरियामा विवाद, राजीनामा र असन्तुष्टिको लहर

काम गर्छु भनेर आएकाहरुलाई प्रोत्साहन दिनुपर्नेमा उनीहरुसँगै पैंठेजोरी खेल्ने काम राम्रो भएन


मेलबर्न, अष्ट्रेलिया ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरिया अर्थात् न्याभ । भिक्टोरियामा रहेका नेपालीहरुको पुरानो संस्था यतिबेला विवादको घेरामा छ । न्याभका सचिव माधव खरेलले दिएको राजीनामा र त्यसपछिका घटनाक्रमले संस्थामा भएका विभिन्न गतिविधिलाई उजागर गरिदिएको छ । सचिव खरेलले केही दिन अघि संस्थाको औपचारिक ग्रुपमा नै आफुमाथि अध्यक्ष प्रेमराज उप्रेतिले “बुली” गरेको आरोप लगाउँदै एक मेसेज सम्प्रेषित गरे । जसमा उनले यस्तै अवस्था रहने हो भने आफुले कामलाई निरन्तरता दिन नसक्ने र यही सन्देशलाई नै आफ्नो राजीनामा ठानेर स्वीकृत गर्न समेत अनुरोध गर्दै लेखेका थिए ।

कुनैपनि सामूदायिक संस्थामा यस किसिमको विवाद आएमा त्यसलाई निराकरण गर्ने दायित्व अध्यक्ष र कार्यसमितिको हुने गर्दछ । तर, भयो उल्टो । त्यस सन्देशलाई नै आधार मान्दै उनको राजीनामा स्वीकृत मात्र भएन सचिवको रुपमा नयाँ जिम्मेवारी समेत तत्कालै तोकियो ।

यसपछि खरेलले संस्थाको सल्लाहकार परिषद् जसमा पूर्वअध्यक्षहरु रहने परम्परा छ त्यसमा आफ्नो असन्तुष्टिको चार पृष्ठ लामो पत्र पठाएका थिए र यसमा छलफल गर्नुपर्ने माग गरेका थिए । संस्थाले यसका विषयमा आधिकारिक रुपमा बाहिर केही नल्याएपनि सल्लाहकार परिषदको बैठक भइसकेको र यसमा समेत भाँडभैलो भएको एक पूर्वअध्यक्षले सार्वजनिक रुपमा नै बताएपछि यतिबेला न्याभमा के भइरहेको छ धेरैको चासोको विषय बनेको छ ।

सार्वजनिक कार्यक्रमहरुमा न्याभमा भएको के हो ? यो चासो यतिबेला मेलबर्नवासीहरुले व्यक्त गर्न थालेका छन् ।

पूर्वअध्यक्ष राम गुरुंगले केही दिन अघि लेखेको फेसबुक स्ट्याटसमा संस्थाको नाम नतोके नि प्रष्टसँग यति कुरा सार्वजनिक गरेका छन् “यहांहरुले कति बाधा ब्यवधान र अड्चनहरू सहेर यो सॅस्थालाई यहांसम्म ल्याई पुरायाउनु भएकोमा नमन गर्न चाहन्छु र यति पुरानो र ठुलो ईतिहांस बोकेको सॅस्थाको यस्तो कन्तबिजोग भैरहॅदा पनि नतमस्तक बसिररनु भएकोमा सिर निहुराएर प्रणाम गर्न चाहें १ जस्को शक्ति उसको भक्ति भन्ने उखान चरितार्थ भाको छ। यहां दुईचार जना ठुलदाईहरूलाई चाप्लुसी गरेकै भरमा स्याबासी मिल्ने गरेको छ । पशुपतिमा छोडेको सांढेले जस्तो जे मन लाग्यो त्यहि गर्दा पनि कुनै प्रतिकृया र खबरदारी छैन बरू तिमी जे मन लाग्छ गर हामी रक्षक छौं फन्ने शैलिमा प्रोत्साहन दिईएको छ भन्ने सुनेको छु १ पुरानो गतिबिधिहरू बढि हाबी भयो त्यसले बढि स्थान ओगट्यो हामी छायांमा पर्यौं भनेर सबै पुराना गतिबिधिहरू र पुराना ऐतिहासिक गतिबिधिलाई छायांमा पारेर निस्तेज बनाउन फेशबुक ह्याक गराईएको बहाना बनाएर प्रपन्ज गरिईयो भन्ने सुन्नमा आएकोछ । २५ बर्षसम्मको ईतिहास मेट्ने कुचेष्टा गर्दासम्म कसैले चुईंक्क पनि बोलेनन पानी मरुवाहरुले ।”

बैठकमा आफुलाई एजेन्डामा बोल्न समेत नदिइएको उनको गुनासो छ । पूर्वअध्यक्ष राम गुरुंगले बैठकको बारेमा उपाध्यक्ष ललिसा थापा र दिप चन्दलाई जानकारी समेत नगराइएको बताएका छन् ।

न्याभ यतिबेला न्याभकप क्रिकेटको अर्को संस्करणको तयारीमा छ । जनवरीको १४ तारिखबाट हुने यो प्रतियोगिताको अघिल्लो संस्करणमा स्पोर्टस कोअर्डिनेटर रहेका दिप चन्द कुनैपनि जानकारी नगराइएको गुनासो व्यक्त गरिरहेका छन् ।

खासमा नेप्लीज एशोसिएसन अफ भिक्टोरिया यहाँ रहेका नेपालीहरुको साझा संस्था भनेपनि यसमा मात्र ८ सय सदस्य छन् । यस पटकको नेतृत्व सर्वसम्मत चुनिएको थियो भने अध्यक्षले केही पदमा टिममा सहज हुने हिसाबले नियुक्ति समेत गरेका थिए । अझै पनि कार्यसमितिले पूर्णता पाउन सकेको छैन ।

अघिल्लो पटक ओसेनिया स्पोर्टस मिटताका पनि न्याभका विवाद चर्किएको थियो । ओसेनिया स्पोर्टस मिटमा सहभागिता जनाउने प्रतिबद्धता जनाएको न्याभले अन्तिम समयमा आएर आफुहरुको प्राथमिकतामा यो प्रतियोगिता नपरेको भन्दै अध्यक्ष उप्रेतिले जवाफ दिएपछि भिक्टोरियाका खेलाडी विलखबन्दमा परेका थिए । अहिले फेरि संस्थाको प्राथमिकतामा खेल पर्न गएको छ र त्यसमा सामूहिकता भन्दा पनि स्वयं अध्यक्ष नै हावी बन्ने प्रयास गरिरहेको कार्यसमितिका सदस्यहरुले बताएका छन् ।

हामीले यस विषयमा संस्थाका अध्यक्ष प्रेम उप्रेतिसँग सम्पर्क गरेका थियौं । एक क्रिकेट प्रतियोगिताको फाईनलमा भेटिएका उनले संस्थामा केही समस्या आएको स्वीकार गरेपनि आफ्नो कारणले त्यस्तो नभएको बरु काम गर्न नसक्नेहरुलाई पद छोड्न आफुले नै भनेको बताएका छन् । अध्यक्ष उप्रेतिले कुनै गलत भएको भए कानूनी रुपमा जान समेत चुनौती दिँदै यस विषयमा स्पष्ट पार्न पत्रकार सम्मेलन गर्न पनि आफु पछि नपर्ने बताए । उनले भने, राजीनामा दिएपछि अर्को व्यक्ति नल्याएर के गर्ने ? स्पोर्टस कोअर्डिनेटर बनाएको मानिसले काम गरेन भने त्यसलाई परिवर्तन गर्न पाउने अध्यक्षको अधिकार हुन्छ । त्यही अधिकार प्रयोग भएको मात्र हो ।

केविसीखबरले न्याभका केही अन्य वरिष्ठ अधिकारीहरुलाई समेत सम्पर्क गरेको थियो । उनीहरुले न्याभमा विवाद आएको स्वीकार गरे । विवादका कारण कार्यसमितिमा तिक्तताको वातावरण भएपनि दुबै पक्षको गल्ती रहेको उनीहरुको भनाई थियो । यसैबीच, न्याभकी कार्यसमिति सदस्य प्रिती सापकोटाले पनि संस्थामा आफूले समय दिन नसक्ने भन्दै राजीनामा दिएकी छिन् । उनको राजीनामा समेत अध्यक्षले नै लेखिदिएको अर्को आरोप थपिएको छ ।

भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु भने अहिलेको न्याभमा देखिएको तनावले समूदायमा नराम्रो सन्देश गएको मान्दछन् । उनीहरु दोश्रो पुस्तालाई सामूदायिक कार्यमा संलग्न गराउनुपर्ने बेलामा निस्वार्थ भावनाले म काम गर्छु भनेर आएकाहरुलाई समेत विच्क्याउने काम अहिलेको नेतृत्वले गरेको ठान्दछन् । उनीहरुको ठम्याई छ, “काम गर्छु भनेर आएकाहरुलाई प्रोत्साहन दिनुपर्नेमा उनीहरुसँगै पैंठेजोरी खेल्ने काम राम्रो भएन ।”

(अर्को सिरिजमा राजीनामा दिएका सचिव माधव खरेलले पूर्वअध्यक्षहरु र सल्लाहकार परिषद्मा पेश गरेको असन्तुष्टि र उनले अध्यक्षमाथि लगाएको आरोपसम्बन्धी समाचार प्रकाशित गर्नेछौं ।)*