एनआरएन भिक्टोरियाको सामूदायसँग अन्तिरक्रिया, सहकार्यमा सबैको जोड

एनआरएन भिक्टोरियाको सामूदायसँग अन्तिरक्रिया, सहकार्यमा सबैको जोड


मेलबर्न अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाले आज समूदायसँग अन्तरक्रिया सम्पन्न गरेको छ। मेलबर्नको सिड्नी रोडमा रहेको रोयल नेप्लीज रेष्टुरेन्टमा गरिएको उक्त कार्यक्रममा एनआरएन भिक्टोरियाले आफ्नो कार्यकालमा गर्ने वार्षिक क्यालेण्डर सार्वजनिक गरेको थियो।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक मणिरत्न सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपसंयोजक महादेव धानुकले आगामी कार्यक्रमका विषयमा जानकारी गराएका थिए। संस्थाका सचिव ससेन्द्र केसीले कार्यक्रमको सञ्चालन गरेका थिए। उक्त अवसरमा नारी निकुञ्ज भिक्टोरियाकी संयोजक राशी सिंह ठकुरी, युवा संयोजक सिद् श्रेष्ठले आगामी योजनाबारे छुट्टै प्रस्तुति दिएका थिए।

संस्थाको वार्षिक क्यालेण्डर सार्वजनिक गरेपछि समूदायका अगुवाहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा एनआरएनका पूर्वअधिकारीहरुसँग सुझाव मागिएको थियो। कार्यक्रममा बोल्ने अधिकांशले सबैलाई समेट्ने सोचका साथ गरिएको अन्तरक्रियाले सकारात्मक परिवर्तन ल्याउने बताएपनि पछिल्लो समय विभिन्न कार्यक्रमहरुमा समूदायको उपस्थिति कम हुँदै जानु चिन्ताको विषय भएको बताएका थिए।

एनआरएनले सदस्यता अभिबृद्धिका लागि केन्द्रित कार्यक्रम ल्याउनुपर्ने, पानीमा हुने जोखिमका बारेमा, विभिन्न आर्थिक ठगीका विषयमा जनचेतना जगाउन सक्नुपर्ने साथै चाडपर्व लक्षित कार्यक्रम गर्दा अन्य सामाजिक संघसंस्थासँग सहकार्य गर्न आवश्यक रहेको औंल्याएका थिए। ।

सुझावकै क्रममा एनआरएन भिक्टोरियाले गर्ने नेपाल फेस्टिभलमा कम्तिमा ५ प्रतिशत अष्ट्रेलियाको अन्य समूदायको उपस्थितिमा जोड दिइएको थियो। राज्य सरकार तथा विभिन्न काउन्सिलहरुले दिने अनुदानलाई कागजी प्रक्रिया मिलाएर सल्टाउने मात्र नभई त्यसको पारदर्शी हिसाब पनि समूदायसमक्ष सार्वजनिक गर्नुपर्ने धारणा पनि उक्त अन्तरक्रियामा उठेको थियो।

यसरी सुझाव दिनेमा समूदायका अगुवा जोग लिम्बु, फेन्काका अध्यक्ष बम योञ्जन, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, न्याभका संस्थापक अध्यक्ष डा। राजु अधिकारी, कोषाध्यक्ष डा. एकिन्द्र तिमल्सिना, दिदीबहिनी समाजकी प्रतिनिधि प्रभा श्रेष्ठ लगायत थिए। कार्यक्रममा बोल्दै एनआरएनका प्रवक्ता बविन मिश्रले एनआरएन अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम महिला सम्मेलन भिक्टोरियामा हुन लागेकोले यसमा सबै भिक्टोरियामा रहेका संघसंस्था समेत मिलेर भव्य बनाउन अनुरोध गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै एनआरएनए भिक्टोरियाका संयोजक तथा अष्ट्रेलियाका उपाध्यक्ष मनिरत्न सापकोटाले भिक्टोरियामा रहेका सबै संघ–सस्थासँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका थिए। उनले एनआरएनए सबैको साझा संस्था भएकाले भिक्टोरियावासी नेपालीको साथ र सहयोगको अपेक्षा गरेको बताए। उनले विगतको कुरालाई कोट्याउनु भन्दा पनि नयाँ जोस र जागरका साथ आएको नयाँ टिमलाई दिएको सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने धारणा राखे।