कांग्रेस–एमाले वार्ता निष्कर्षविहीन, अब के हुन्छ ?

कांग्रेस–एमाले वार्ता निष्कर्षविहीन, अब के हुन्छ ?


काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । देउवालाई भेट्न एमाले अध्यक्ष ओली करिब साढे ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस र एमाले नेताहरूबीच करिब डेढ घण्टा छलफल भएको छ । तर, कुनै निष्कर्षमा भने नपुगेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले छलफल सकारात्मक भएको बताए । ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित नेताहरूसँग दिउँसो पनि लामो छलफल भयो, अहिले पनि लामो छलफल भएको छ,’ मन्त्री कार्कीले भने, ‘प्रधानमन्त्री देउवाले सबैको सहयोगमा एमसीसी सम्झौतालाई संसद्बाट निकास दिने कुरा गर्नुभएको छ ।’
मन्त्री कार्कीले छलफलमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा दोहो¥याएको बताए । ‘उहाँहरुले पुरानै कुरा गर्नुभयो । हामीले जुन कुराले संसद्मा प्रवेश पाएका छैनौँ । त्यो समस्या समाधान नभइन्जेलसम्म हामीले संसद्मा आएर कुरा राख्ने सम्भावना रहँदैन, त्यसैले संसद्मा पहिले हाम्रो सहभागिता हुने व्यवस्था गर्नुहोस्,’ भेटमा ओलीले भनेको उदृत गर्दै मन्त्री कार्कीले भने ।
मन्त्री कार्कीले बिहीबार भएका छलफलले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि सहयोग पुग्ने बताए । ‘यस्ता छलफलबाटै संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्छ, र यस्तो छलफल जारी रहन्छ । हामीले सार्वजनिक संसद्को गरिमालाई स्थापित गर्न सकेनौँ भने जनतामा निराशा छाउँछ, त्यसैले संसद् चाँडै सुचारु गर्नुपर्छ भन्ने छ । तर, छलफल निष्कर्षमा पुगेको छैन,’ उनले भने ।
मन्त्री कार्कीले शुक्रबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु हुने बताएका छन् ।
बिहीबार बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवनमै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । अहिले एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनका लागि पेस गरेको छ । तर, त्यसमाथि छलफल हुन र अनुमोदनको प्रक्रिया अघि बढाउन सत्तारुढ गठबन्धनमा सहमति जुटेनँ । त्यही कारण प्रधानमन्त्री देउवाले विपक्षीको साथ खोजिरहेका छन् ।
भेटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले नेताहरुसहित बसेर केहीबेर छलफलपछि अलग्गै बसेर गोप्य संवाद गरेका छन् । यसअघि पनि देउवा–ओलीबीच यस्तै वान टु वान वार्ता हुँदै आएको छ । बैठकमा एक नेताका अनुसार प्रधानमन्त्री देउवाले एमालेका माग सम्बोधन गर्न लचकता देखाएका छन् । तर, सहमति भने भइसकेको छैन ।