नायक पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता, पक्राउ गर्ने तयारी

नायक पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता, पक्राउ गर्ने तयारी


काठमाडौं, ११ फागुन । नेपाली चलचित्रका नायक पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ । १७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन् ।
गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ । शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जाहेरी दर्ता भएको जानकारी दिएको छ ।
१७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् । तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिकालाई फकाईफुल्याई गर्ने मौका पाएको देखिन्छ ।
यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ । उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन् । कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध बलात्कार हो ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन् । प्रहरीले त्यतिबेला सबैकुरा सुनेर्बुझेर जाहेरी पनि तयार गरिसकेको थियो । तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो ।
प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्रहरी हिरासतमा हुने थिए । आफूकहाँ महिला, बालबालिकामाथि भएको बलात्कारसम्बन्धी घटना तत्काल दर्ता गरी क्षेत्राधिकार पुग्ने रहेनछ भने सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरी पठाउने कानुनी व्यवस्था भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७ को उपदफा १ मा आफूकहाँ आएको कसुरसम्बन्धी सूचना अर्को प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र पर्ने रहेछ भने उतै पठाउनुपर्ने उल्लेख छ । तर सोही दफाको उपदफा २ ले कसुर गर्ने व्यक्ति उम्कन सक्ने वा प्रमाण नष्ट गर्ने सम्भावना देखे तत्काल दर्ता गरी प्रारम्भीक अनुसन्धान समेत गरेर पठाइदिन सक्ने व्यवस्था गरेको छ ।
यस्तो छ सजायको व्यवस्था
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने र दोषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने उल्लेख छ ।