एनआरएन आईसीसीको निर्वाचन नजिकियो, सेल्फी खिच्ने समय आज थप

एनआरएन आईसीसीको निर्वाचन नजिकियो, सेल्फी खिच्ने समय आज थप


काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी नेतृत्वको लागि हुन लागेको विश्व सम्मेलन र निर्वाचनको लागि आफ्नो विवरण अद्यावधिक गराउने अवधि थप गरिएको छ । निर्वाचन समितिको तर्फबाट २३ फेब्रुअरीमा जारी गरिएको विज्ञप्तिमा सेल्फी खिच्ने र आफ्नो विवरण आज २४ फेब्रुअरी अर्थात् बिहीबार नेपाली समय अनुसार मध्यरातसम्म थप गरिएको जानकारी दिइएको छ । विज्ञप्तिमा हालसम्म ८० प्रतिशतभन्दा बढीले आफ्नो विवरण पेश गरिसकेको समेत जनाइएको छ । एनआरएनको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाईनबाट हुनेछ ।

यसरी आजभित्र आएका प्रतिनिधिको नामावलीउपर उजुरी गर्नुपरेमा दावी विरोधको समय आगामी फेब्रुअरी २७ तारिख राति १० बजेसम्म तोकिएको छ ।

प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जाराले जारी गरेको विज्ञप्तिमा यसअघि प्रकाशित गरिएको अन्य कार्यतालिका भने यथावत रहेको समेत जानकारी गराइएको छ । यस्तो छ विज्ञप्ति –

उता पाटन उच्च अदालतमा परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको निर्वाचनका कार्यक्रम स्थगित गर्नका लागि दिएको मुद्दामा कुनै अन्तरिम आदेश नभएपछि बुधबारका लागि तोकिएको सुनवाई सरेको छ । परराष्ट्र मन्त्रालयले अदालतले दिएको आदेशका विरुद्ध भ्याकेट निवेदन लिएर गएको भएपनि उच्च अदालत पाटनले मुद्दालाई हेर्न नभ्याइएको सूचिमा राखेर आगामी मार्च ९ तारिखका लागि अर्को पेशी तोकेको छ । संघको चुनाव रोक्ने र सम्पूर्ण अधिकार संरक्षक परिषद्लाई दिइ त्यहीँबाट निर्वाचन गराउने परराष्ट्र मन्त्रालयको निर्देशनात्मक पत्र आएपछि त्यसको विरुद्ध एनआरएन अदालत गएको थियो ।