अभिनेता पल शाहविरुद्ध नाबालिका करणीको मुद्दा दर्ता !

अभिनेता पल शाहविरुद्ध नाबालिका करणीको मुद्दा दर्ता !


काठमाडौं ।
मोडल तथा अभिनेता पल शाहले १८ वर्षमुनीकी एक गायिकासँग जबर्जस्ती यौन सम्बन्ध राखेको भन्दै तनहुँ जिल्लामा उजुरी परेको छ । १७ वर्षीय ति गायिकाले आफैं उपस्थित भएर जिल्ला प्रहरी कार्यालय तनहुँमा निजविरुद्ध जाहेरी दिएकी हुन् । शाहले बालिकालाई ललाई फकाई माया गर्ने बहानामा जबर्जस्ती करणी गरेको विवरण जाहेरीमा लेखिएको छ ।

एक महिना अघि नै जिल्ला प्रहरी कार्यालय कास्कीमा यो मुद्दा दर्ता गर्न खोजिएको भएपनि आफ्नो कार्यक्षेत्र बाहिर परेको भन्दै तनहुँ जान कास्की प्रहरीले सुझाएको थियो । ति गायिका र पल शाहबीच यस विषयलाई टुंग्याउने भन्दै बसेर कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । यही प्रसंगमा निज गायिकाले कुटाई समेत खाएकी थिइन् ।

सार्वजनिक भएको अडियोमा पल शाहले आफुले गल्ती गरेको तर गर्भवति नभएको कारण विवाह नै गर्ने भन्ने नहुने बताएका थिए । यो कुराकानीबाट निजरुबीच शारीरिक सम्पर्क भएको बुझिन्छ । नेपालमा मात्र होइन विश्वभर नै १८ वर्षभन्दा कम उमेरका बालिकालाई राजीखुशीमै यौन सम्पर्क गरेमा पनि यो अपराध मानिन्छ ।

बलात्कार, हत्या जस्ता फौजदारी अभियोगहरुमा सरकार वादी हुने व्यवस्था छ । यस्तो मुद्दा प्रहरी कार्यालयमा आइसकेपछि त्यस्तोलाई तत्कालै दर्ता गर्ने र गर्न नसकेमा सम्बन्धित ठाउँमा लेखी पठाउने कार्यबाट कास्की प्रहरी समेत चुकेको पाइएको छ । यस विषयमा प्रहरीको केन्द्रीय हेडक्वार्टरले समेत चासो राखेको प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिएका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७ उपदफा १ मा आफुकहाँ आएको कसुरसम्बन्धी सूचना अर्को कार्यालयको क्षेत्राधिकारभित्र पर्ने रहेछ भने उता पठाउनुपर्ने उल्लेख छ । तर, यदि सोही दफाको उपदफा २ ले कसुर गर्ने व्यक्ति उम्कन सक्ने वा प्रमाण नष्ट गर्ने सम्भावना देखे तत्काल दर्ता गरी प्रारम्भिक अनुसन्धान समेत गरेर पठाउन सक्ने व्यवस्था गरेको छ ।