काठमाडौं उपत्यकामा ९ दिनदेखि उठेन फोहोर, जताततै दुर्गन्धित

काठमाडौं उपत्यकामा ९ दिनदेखि उठेन फोहोर, जताततै दुर्गन्धित


काठमाडौं, ९ फागुन । काठमाडौं उपत्यकाबाट सिसडोल ल्यान्डफिल साइटमा दैनिक १ हजार ३ सय टन फोहोर विर्सजन हुन्छ । महानगरपालिकाका २० वटा र निजी क्षेत्रका १२० वटा ट्रकले दैनिक रुपमा यहाँको फोहोर बोक्छन् । तर फागुन १ गतेदेखि काठमाडौंको फोहोर उठ्न छाडेको छ ।
नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट जाने सडक त्यहाँका स्थानीयले महानगरको फोहोर बोक्ने ट्रक रोकिदिएपछि फोहोर उठ्न सकेको छैन । यसअघि वर्षाको बेला विसर्जनस्थल जाने सडक अवरुद्ध हुँदा उपत्यकाको फोहोर ढिलो गरेर उठ्थ्यो ।
अहिले पनि ९ दिनदेखि फोहोर नउठ्दा काठमाडौंमा ११ हजार ७ सय टन फोहोर थुप्रिएको छ । केही मात्रामा टेकुस्थित ट्रान्सफर स्टेसन र अधिकांश काठमाडौंको सडकपेटीमा थुप्रिएको छ । उपत्यकाभित्र करिब ४५० किलोमिटर सडक बडारिन्छ, त्यो फोहोर पनि सडकमै विर्सजन भइरहेको छ । फोहोर सडकमा थुप्रिँदा दुर्गन्ध फैलिएको छ । यसले स्वास्थ्यलाई मात्रै नभएर सरुवा रोग संक्रमणको जोखिम समेत बढाएको छ । जथाभावी रुपमा छरपस्ट फोहोर नउठ्दा संक्रमणको भय बढेको छ ।