नेपाल समूह विजेता बन्दै टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

नेपाल समूह विजेता बन्दै टी–२० विश्वकप छनोटको सेमिफाइनलमा


काठमाडौं, ९ फागुन । नेपाल समूह ’ए’ विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनोटको सेमिफाइनलमा पुगेको छ । आज सोमवार ओमानको अल अमिरात मैदानमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएको हो ।
नेपालको जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यसअघि आशिफ शेख १७ रन बनाएर आउट हुँदा कुशल मल्ल खाता नखोली एक बलमै आउट भए । बलिङतर्फ क्यानडाका कलीम साना र सलमान नजरले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन मात्र बनाउन सक्यो । उसका लागि डिलोन हेलिगर नटआउट २४ र कप्तान नवनीत धलिवालले १८ रन बनाए पनि अन्य ब्याटरले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बोहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।
यसअघि नेपालले फिलिपिन्स र आयोजक ओमानलाई हराएको थियो ।
अब नेपालले सेमिफाइनलमा समूह ’बी’ को उपविजेता यूएईसँग खेल्नेछ । अर्काे सेमिफाइनलमा समूह ’बी’ को विजेता आयरल्यान्डले समूह ’ए’ को उपविजेता ओमानसँग खेल्नेछ । सेमिफाइनल खेल भोलि हुनेछ ।
यस्तै फाइनल खेल आउँदो बिहीवार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।