सरकारले दियो अर्को उपहार, इन्धनको मूल्य फेरि बढ्यो

सरकारले दियो अर्को उपहार, इन्धनको मूल्य फेरि बढ्यो


काठमाडौं, ७ फागुन । सरकारले जनतालाई राहत दिनुपर्नेमा एक पछि अर्को वस्तुको मूल्य वृद्धि गरेर आहात दिएको छ । केही दिनअघि मात्र दूधमा मूल्य वृद्धि गरेको सरकारले इन्धनमा पटकपटक मूल्यवृद्धि गर्दैै आएको छ । अहिले नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेशन्स्ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३÷३ रुपैयाँ बढेको हो ।
नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मटितेल १ सय २८÷१ सय २८ रुपैयाँ पर्नेछ । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो । निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो । यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।
यस्तै, निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा २ अर्ब १५ करोड रुपैयाँ घाटा हुने जनाएको छ ।