आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको सुखद सुरुवात

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको सुखद सुरुवात


काठमाडौं, ६ फागुन । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको हो ।
एक सय १८ रनको विजय लक्ष्य पाएको ओमान १७ ओभरमा सबै विकेटको क्षतिमा ७८ रनमा समेटियो । ओमानका लागि नसिम खुशीले मात्र २४ रन बनाउनुभयो । नेपालको कसिलो बलिङको शिकार भएको ओमानका सुरुवाती सात ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
ओमानलाई सस्तैमा समेट्न कमल ऐरीले तीन, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिनुभयो । जितेन्द्र मुखिया र अभिषेक बोहोराले एक एक विकेट लिनुभयो । ब्याटिङमा कमजोर देखिएको नेपालले ओमानलाई रोक्न बलिङमा भने सानदार खेल प्रदर्शन ग¥यो । पहिलो जितसँगै नेपालको विश्वकप छनोट सम्भावना बढेको छ ।
यसअघि टर हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाउनुभयो । उहाँले ३७ बलमा दुई चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
कप्तान सन्दीप लामिछानेले अविजित १६ रन बनाउनुभयो । सात बलको सामना गर्दै सन्दीपले एक छक्का र एक चौका हान्नुभयो । यसैगरी लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाउनुभयो । नेपालका ओपनरद्वय कुशल भुर्तेल पाँच र आरिफ शेख चार रन जोड्दै बाहिरिएपछि नेपाल केही दबाबमा परेको थियो ।
बलिङमा ओमानका खवार अलीले सर्वाधिक तीन विकेट लिनुभयो । विलाल खानले दुई तथा फयाज बट र जिसन मक्सोदले एक एक विकेट लिनुभयो । छनोट खेलको समूह ‘ए’ रहेको नेपालले दोस्रो खेल शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जितेर फाइनलमा पुग्ने टोलीले यसैवर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।