खुकुलो बन्दै भिक्टोरियाको कोभिड १९ प्रतिबन्ध, अबदेखि क्यूआरकोड चेकईन गर्न नपर्ने

खुकुलो बन्दै भिक्टोरियाको कोभिड १९ प्रतिबन्ध, अबदेखि क्यूआरकोड चेकईन गर्न नपर्ने


मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियामा आज साँझ ६ बजेबाट कोभिड १९ कोरोना फैलिन नदिन लगाइएका प्रतिबन्धहरुलाई थप खुकुलो बनाइएको छ । प्रिमियर डेनियल एन्ड्रयुजले गरेको घोषणा अनुसार अब सुपरमार्केट, विद्यालय, चाईल्डकेयर सहित धेरै कार्यस्थलहरुमा क्यूआरकोड सहितको चेकईन गर्न नपर्ने भएको छ । यद्यपि रेष्टुरेन्ट र मनोरञ्जन स्थलहरुमा भने यो कायम नै रहनेछ ।

यस्तै अबदेखि डिस्कोहरुमा नाच्न समेत पाइने भएको छ । हाल लगाइएको दुई स्क्वायर मिटर प्रतिव्यक्तिको दूरी समेत हटाइएको छ ।
उता अन्तर्राष्ट्रिय यात्रीहरुले अब अष्ट्रेलियामा यात्रा गर्दा कुनै पूर्वस्वीकृति लिनु पर्ने छैन भने खोप नलगाएका व्यक्तिहरुको हकमा १४ दिने क्वारेन्टीनको सट्टा ७ दिन मात्रै क्वारेन्टीन बसे पुग्ने भएको छ ।

मासु प्रशोधन गर्ने कारखानाहरु, होटल क्वारेन्टीन लगायतमा काम गर्ने व्यक्तिहरुले हरेक दिन गर्दै आएको अनिवार्य र्यापीड एन्टीजेन परीक्षण पनि हटाइएको छ । अबदेखि यो बाध्यकारी हुने छैन ।

अर्को साता थप खुकुलो

आगामी शुक्रबार फेब्रुअरी २५ देखि सबै कार्यालयहरु आफ्नै क्षमतामा सञ्चालन हुन सक्ने भएका छन् । यसअघि मानिसहरुलाई घरबाट नै काम गर्न सकिने अवस्थामा कार्यालय नजानका लागि भनिएको थियो । यस्तै कार्यस्थलमा मास्क लगाउनुपर्ने नियममा पनि परिवर्तन हुने संकेत गरिएको छ । यद्यपि कुनै निर्णय भने भइसकेको छैन ।

अहिले पनि ८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई सबै इन्डोर भेन्यूहरुमा मास्क अनिवार्य गरिएको छ । निजी घर र कुनै चिज खाँदा वा पिउँदा भने मास्क लागाउनु अनिवार्य छैन । भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टिन फोलीले पहिलो चरणको प्रगति हेरेर अर्को साताका लागि निर्णय लिइने बताए ।