साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ८ जना दोषी, अरुलाई सफाइ

साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ८ जना दोषी, अरुलाई सफाइ


काठमाडौं, १९ असोज । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको हो ।

जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले पेश गरेको रायसहितको प्रतिवेदनका आधारमा १९ वैशाख २०७५ मा आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । तीमध्ये ज्यान मुद्दाका आरोपी मात्र दोषी ठहर भएका हुन् । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहरिएका छन् ।

श्रेस्तेदार राणाले भन्नुभयो– ‘उहाँको सजाय निर्धारण पछि हुनेछ ।’ प्रकरणमा मुछिएका सबै प्रहरी अधिकारीलाई पनि सफाइ दिने आदेश अदालतले गरेको छ ।

के हो सुन तस्करी प्रकरण ?

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यस प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।