नेपाल आयरल्यान्डसँग पराजित

नेपाल आयरल्यान्डसँग पराजित


काठमाडौँ, २ फागुन । ब्याटिङ नचलेपछि नेपाल ओमानमा जारी चारदेशीय टी–२० सिरिजको अन्तिम खेलमा टेस्ट टोली आयरल्यान्डसँग पराजित भएको छ । अल अमेरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो ।
आयरल्यान्डले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रनमा समेटिएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । आशिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमल ऐरीले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङमा आयरल्यान्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले दुई दई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । आयरल्यान्डका जर्ज डोकरेलले २८ रन, कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४ र एन्डी माइकब्राइनले ११ रन बनाए । बलिङमा नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २१ रन मात्र खर्चिए । अविनाश बोहराले दुई तथा सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले एक एक विकेट लिए ।
यस हारसँगै नेपाल तीन खेलमा दुई अंक जोड्दै अन्तिममा रह्यो । नेपालले ओमानमै फेब्रुअरी १८ तारिखदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि सिरिज खेलेको हो । ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
जसमा नेपालको समूहमा क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । अर्को समूहमा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपालले फेब्रुअरी १८ तारिख ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध १९ तारिख र तेस्रो खेल क्यानाडाविरुद्ध २१ तारिख हुनेछ । समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेल २२ र फाइनल खेल २४ तारिखमा हुनेछ । फाइनल खेल्ने दुई टोली यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछन् ।