वैशाख २९ गतेसम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

वैशाख २९ गतेसम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने


काठमाडौँ, २९ माघ । निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ ।
ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ ।
तर विगतमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई नै आयोगले ‘कट अफ डेट’ तय गर्दै आएको थियो । “माघ २४ गतेसम्म नामावली दर्ता गराएका तर वैशाख २९ गते १८ वर्ष उमेर पुग्ने नागरिक मतदाता हुने,” प्रवक्ता पौडेलले प्रष्ट्याउनुभयो ।