एनआरएनएको विवाद : निर्वाचनलाई मान्यता नदिन परराष्ट्रको परिपत्र

एनआरएनएको विवाद : निर्वाचनलाई मान्यता नदिन परराष्ट्रको परिपत्र


काठमाडौँ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद झनै बढ्दै गएको छ। कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो। अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ।

महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्ट्रेलियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए। अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको बताए।

सुवेदीले यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको जिकिर गरे। उनले उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताए।

उनले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताए। उनले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गरे।

त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको भनाइ राखे। उनले शून्य हुनु नहुनुपर्ने भए पनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटी भएको हुनसक्ने बताए।

उपाध्यक्ष शर्माले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने बताए। उनले पुनः गणना गर्नुपरे पनि आफूहरू तयार रहेको बताए।