एनआरएनएको अध्यक्षका लागि तीन जना चुनावी मैदानमा, रविना थापाले लिइन उम्मेदवारी फिर्ता

एनआरएनएको अध्यक्षका लागि तीन जना चुनावी मैदानमा, रविना थापाले लिइन उम्मेदवारी फिर्ता


काठमाडौँ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। संघको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेकोमा अध्यक्षका प्रत्यासी रविना थापाले अन्तिममा आएर आफ्नो उम्मेदवारी फिर्ता लगेकी छन्। थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

अब अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिष्पर्धा हुँदैछ। अध्यक्षका प्रत्याशी तीन जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन्।

नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ। विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ। अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ। नेपालमा रहेका प्रतिनिधिहरुलाई भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदानको समय तोकिएको छ।

४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ। एनआरएनएको ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।

एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ। एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी रहेको छ। अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ। दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्।