टी–२० विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान

टी–२० विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान


काठमाडौं, २५ माघ । टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । यसअघि यिुवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गर्नुभएको थियो । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मन्त्री गहतराजले बिदाइ गर्नुभएको हो ।
नेपाली टोली आज राति साढे आठ बजे ओमान प्रस्थान गरेको हो । मन्त्री गहतराजले विश्व कपमा छनोट भएर आउन शुभकामना दिँदै नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै गरेको उल्लेख्य प्रगति हेर्दा सफल हुनेमा विश्वस्त रहेको पनि बताउनुभयो । सरकारले खेल पूर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको भन्दै मन्त्री गहतराजले केही ठूला पूर्वाधारहरू निर्माणाधीन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पूर्णता दिने गरी काम भइरहेका दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतका कमजोरी सच्याएर नेपालले उत्कृष्ट खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
ग्लोबल छनोटको समूह ’ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ’बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनोट खेल फेब्रुअरी १८ तारिखदेखि हुँदैछ । दुवै टोलीबाट शीर्ष दुई टोली सेमिफाइलनमा जानेछन् । त्यसपछि फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप खेल्नेछन् ।
छनोटअघि नेपालले ओमान, आयरल्यान्ड र यूएईसँग चार देशीय शृङ्खला खेल्नेछ । यसैबीच विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्ने नेपाली टोलीमा सागर ढकाल पनि समावेश भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले ओमान भ्रमणमा जाने दिन आज नै ढकालको नाम पनि सार्वजनिक गरेको हो । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर ढकाल थपिएसँगै ओमान जाने खेलाडीको सङ्ख्या १७ जना पुगेको छ ।