दोस्रो ‘दसैँ सुपर सिक्स’ क्रिकेट प्रतियोगिताको उपाधि एक्सपर्ट क्रिकेट क्लबलाई

दोस्रो ‘दसैँ सुपर सिक्स’ क्रिकेट प्रतियोगिताको उपाधि एक्सपर्ट क्रिकेट क्लबलाई


होबार्ट, तास्मानिया ।

तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए)ले आयोजना गरेको दोस्रो ‘दसैँ सुपर सिक्स’ क्रिकेट प्रतियोगिताको उपाधि एक्सपर्ट क्रिकेट क्लबले जितेको छ।

आइतबार पेम्ब्रोक ओवल, सोरेल क्रिकेट मैदानमा भएको फाइनल खेलमा एक्सपर्टले लन्चेन्स्टन नेप्लिज क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो। 

टस जितेर ब्याटिङ गरेको लन्चेन्स्टन नेप्लिज क्रिकेट क्लबले निर्धारित ५ ओभरमा तीन विकेट गुमाएर ७९ रन बनाएको थियो। जितका लागि ८० रनको लक्ष्य पाएको एक्सपर्टले एक विकेटको उक्त लक्ष्य प्राप्त गरेको हो। 

दोस्रो ‘दसैँ सुपर सिक्स’ क्रिकेट प्रतियोगिताको विजेता बनेको एक्सपर्ट क्रिकेट क्लबले एक हजार अष्ट्रेलियन डलर, नगद मेडल र प्रमाणपत्र पाएको छ। उक्त प्रतियोगितामा दोस्रो भएको लन्चेन्स्टन नेप्लिज क्रिकेट क्लबले पाँच सय अष्ट्रेलियन डलर नगद मेडल र प्रमाणपत्र पाएको टिएनसिएका अध्यक्ष कमल भण्डारीले जानकारी दिए। 

उक्त टुर्नामेन्टमा किफायती बलर लन्चेन्स्टन नेप्लिज क्रिकेट क्लबका रुपेश पराजुली, सर्वाधिक रन स्कोरर एक्सपर्ट क्रिकेट क्लबका वजीर युनिस, अधिकतम छक्का प्रहार गर्ने गोरखा लिजेन्ड्सका सन्दिप अधिकारी, सर्वाधिक विकेट लिने खेलाडीमा गोरखा लिजेन्ड्सका शरवन कुमार, उत्कृष्ट फिल्डर वासी मोहम्मद खान र फेयर प्ले अवार्ड मुनलाइट राइनोज क्रिकेट क्लबले पाएकाे थियाे। म्यान अफ द टुर्नामेन्ट अधिकतम छक्का प्रहार गर्ने गोरखा लिजेन्ड्सका सन्दिप अधिकारी घोषित भएका थिए।

ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन टाइटल स्पोन्सर रहेको प्रतियोगिताको उपाधिका लागि ९ टिमले प्रतिस्पर्धा गरेका थिए। क्रिकेटमा सुपर सिक्स नयाँ फर्म्याट अनुसार खेलाइएको थियो। जसमा एक टिमबाट ६ जना खेलाडीले खेलेका थिए भने पाँच जनाले मात्र बलिङ गरेका थिए। जम्मा पाँच ओभर रहेको प्रतियोगिताको एक ओभर ८ बल गणना गरिएको थियो।