विदेशी यात्रीहरुको लागि फेब्रुअरी २१ बाट खुल्यो अष्ट्रेलिया

विदेशी यात्रीहरुको लागि फेब्रुअरी २१ बाट खुल्यो अष्ट्रेलिया


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाले आफ्नो सिमाना पूरै खोप लगाएका विदेशी पर्यटक र यात्रीहरुको लागि आगामी फेब्रुअरी २१ तारिखबाट खुल्ला गर्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आज उक्त घोषणा गरेका हुन् । घोषणा गर्दै प्रधानमन्त्री मोरिसनले एउटै सर्त पूर्णत खोप लगाएको हुनुपर्ने बताएका हुन् ।

सरकारको यो निर्णयलाई पर्यटनसँग सम्बन्धित संघसंस्थाले स्वागत गरेका छन् । अष्ट्रेलियामा विगत दुई वर्षभन्दा बढीदेखि अन्तर्राष्ट्रिय यात्री आउन पाएका थिएनन् । यस्तै यहाँ रहेका विद्यार्थीहरु पनि आफ्नो घर जान पाएका थिएनन् ।

गृहमन्त्री करेन एन्ड्रयूजले खोप नलगाएका व्यक्तिहरुले स्वास्थ्यका कारण खोप लगाउन नमिल्ने प्रमाण पेश गरेर भ्रमणका लागि पूर्वस्वीकृति लिनुपर्ने जानकारी दिएकी छिन् । प्रधानमन्त्री स्कट मोरिसनले भिसा भएपनि खोप नलगाएको अवस्थामा जो कोहीलाई फिर्ता पठाइने आफ्नो सरकारको यसअघिको नीति नै क्रियाशील रहने समेत स्पष्ट पारे ।

केही अघि चर्चित टेनिस खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलिया सरकारले खोप नलगाएको भन्दै फिर्ता पठाइदिएको थियो । अदालतमा उनले मुद्दा जितेपनि सरकारले मन्त्रीस्तरीय निर्णयबाट निजलाई फिर्ता पठाएको थियो ।