नेपालको झल्को दिने एडिलेडको इन्द्र जात्रा (तस्बिरसहित)

नेपालको झल्को दिने एडिलेडको इन्द्र जात्रा (तस्बिरसहित)


एडिलेड अष्ट्रेलिया ।

साउथ अष्ट्रेलियामा येँया पुन्ही इन्द्र जात्रा फेस्टिभल भव्य रुपमा सम्पन्न भएको छ। गुठी साउथ अष्ट्रेलियाले आयोजना गरेको इन्द्र जात्रा यहाँ रहेका नेपालीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको हो। आइतबार कॉसग्रोव हल क्लोवेल्ली पार्कमा येँया पुन्ही इन्द्र जात्रा फेस्टिभल हेर्न ७ सय बढीको उपस्थिति रहेको थियो। 

फेस्टिभलमा कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, समयबजी कुमारी नृत्य, ब्रजयोगिनी नृत्य,पञ्च बुद्घ नृत्य, चार्य नृत्य, मञ्जुश्री नृत्य प्रस्तुत गरिएको थियो। नेपालका अनमोल प्राचीन सम्पत्तिको रूपमा रहेका सांस्कृतिक सम्पदाहरूलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले नेपालको झल्को दिएको थियो। 

नेवारी सभ्यता र रीतिरिवाज, कला संस्कृतिलाई साउथ अस्ट्रेलियावासीहरू बिच चिनाउन गुठी साउथ अष्ट्रेलियाको प्रयास प्रशंसनीय थियो। उक्त कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक संञ्जय पुरी, साउथ अष्ट्रेलिया राज्यका सांसद नादिया क्लेन्सी र लुइस मिलर लगायतको उपस्थिति रहेको थियो।