तीन नेताबीच सकियो बालुवाटार छलफल, चुनावपछि एमसीसी निर्णय गर्न प्रचण्डको प्रस्ताव

तीन नेताबीच सकियो बालुवाटार छलफल, चुनावपछि एमसीसी निर्णय गर्न प्रचण्डको प्रस्ताव


काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सुचारु गराउने विषय, एमसीसीलाई संसदमा लैजाने विषय लगायत समसामयिक राजनीतिमा छलफल गर्न प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाउनुभएको थियो ।

छलफलमा सहभागी हुन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै गएका महासचिव शंकर पोखरेलले पत्रकारहरुसँग कुरा गर्दै सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षीसहित तीनै दल मिलेर एमसीसीको बारेमा आगामी निर्वाचन पछि निर्णय दिनेछौं भन्दै अमेरिकालाई पत्र लेख्ने विषय प्रस्ताव गरेका थिए । यस्तै प्रधानमन्त्री देउवाले नेकपा एमालेले संसद सुचारु गराउन सहयोग गर्नुपर्ने र एमसीसीका विषयमा पनि साझा मत बनाउने प्रस्ताव गरेका थिए ।

यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखको कारण संसदको गतिरोध बढेका कारण उनलाई हटाउनुपर्ने बताएका थिए भने एमसीसीको विषयमा विपक्षी दलको भूमिका नहुने भन्दै सरकारले नै यस बारेमा निर्णय गरोस् यसपछि आफ्नो दलको धारणा दिने बताएको महासचिव पोखरेलले जानकारी दिएका छन् । सभामुखले कि त एमालेबाट कारवाहीको लागि गएको पत्रलाई अनुमोदन गर्नुपर्ने अन्यथा मार्ग प्रशस्त गर्दै पद छोड्नु उचित हुने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए ।

बैठकमा सत्ता साझेदार दल जनता समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित थिएनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल एकअर्काको कटु आलोचनामै रहेको बेला उनीहरुले एकअर्काको उपस्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएपछि यी तीन शीर्ष नेताहरुबीच मात्रै छलफल भएको अनुमान गरिएको छ ।