अष्ट्रेलिया अन्तर्राष्ट्रिय पर्यटकको लागि अब केही साताभित्रै खुल्ने

अष्ट्रेलिया अन्तर्राष्ट्रिय पर्यटकको लागि अब केही साताभित्रै खुल्ने


मेलबर्न, अष्ट्रेलिया ।

करिब दुई वर्षदेखि अष्ट्रेलियामा अन्तर्राष्ट्रिय पर्यटक र यात्रीहरुलाई आउन लगाइएको प्रतिबन्ध अबको केही साताभित्रै खुल्ला गरिने भएको छ । सिमाना अन्तर्राष्ट्रिय यात्री, पर्यटकहरुको लागि खुल्ला गर्ने विषयमा सम्पूर्ण तयारी पूरा भएको र सोमबार बस्ने राष्ट्रिय सुरक्षा कमिटकिो बैठकमा यस विषयमा छलफल गरिने अष्ट्रेलियाको आन्तरिक मामिला मन्त्री करेन एन्ड्रयूजले बताएकी छिन् ।
सोमबार हुने बैठकमा स्वास्थ्यविज्ञहरुसँग यस विषयमा राय मागिनेछ ।

मन्त्री एन्ड्रयूजले अहिले यो विषय उच्च प्राथमिकतामा रहेको बताएकी छिन् । अष्ट्रेलियाका सबैजसो राज्यले आफ्ना बासिन्दाहरुको कोभिड खोपदर ९० प्रतिशतभन्दा बढी पुगिसकेको कारण यस किसिमको प्रतिबन्ध आवश्यक नहुने यसअघि सरकारलाई सुझाव दिइसकिएको छ ।

अहिले अष्ट्रेलियामा ओमिक्रोन भाईरसको संक्रमण वेष्टर्न अष्ट्रेलिया बाहेक अन्यत्र सबै राज्यमा घट्दो अवस्थामा छ । यद्यपि मृत्युदर भने बढी रहेका छ । अष्ट्रेलियाले स्वीकृत गरेका खोपहरुको पूर्ण मात्रा लगाएका पर्यटकहरुलाई आउन दिने र खोप नलगाउने पर्यटकहरुलाई भने भिसा पनि नदिने र सिमानाबाट नै फिर्ता गर्ने नीति अष्ट्रेलियाले लिनेछ ।