शशिकला र सुचित्रालाई तीज विशेष सम्मान !

शशिकला र सुचित्रालाई तीज विशेष सम्मान !


चलचित्र पत्रकार संघ नेपाल, महिला विभागले आयोजना गरेको ‘तीज उत्सव तथा सम्मान कार्यक्रम २०८०’ मा नेपाली चलचित्र पत्रकारितामा योगदान पु-याएका दुई व्यक्तिलाई सम्मान गरिएकोे छ । संघमा यसपटकबाट शुरु भएको तीज कार्यक्रममा नेपालकै पहिलो महिला चलचित्र पत्रकार शशिकला मानन्धर र पूर्व चलचित्र पत्रकार (चपसंघ संस्थापकक सदस्य) एवं नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई ‘तीज विशेष सम्मान’ गरेको हो ।

तीसको दशकबाटै रंगमञ्च, साहित्य लगायत कला क्षेत्रमा सक्रिय रहेर नेपाली कला क्षेत्रमा योगदान पु¥याउँदै नेपाली चलचित्र पत्रकारीताको क्षेत्रमा पहिलो पाइला राख्ने शशिकला मानन्धरले यस सम्मानले आफुलाई निकै खुशी मिलेको बताईन् ।

चलचित्र पत्रकार संघ नेपाललाई धन्यवाद दिँदै उनले भनिन्,“तत्कालिन समाजका हरेक क्षेत्रमा महिला प्रवेशलाई नकारात्मक तरिकाले हेर्ने समयमा पनि आफ्नो रुचीलाई मर्न नदिई चलचित्र पत्रकारितामा सक्रिय भएर महिलाहरुले पनि स्वतन्त्र ढङ्गले काम गर्न पाउनुपर्छ भनेर म लागेकी थिएँ । आज त्यसको प्रतिफल प्राप्त भएको छ ।” उनले चलचित्र पत्रकारितामा अहिलेको समयमा सक्रिय चलचित्र पत्रकारहरुलाई शुभकामना पनि दिएकी थिईन् । मानन्धरले ‘इनाप’, ‘कामना’ ‘गोरखापत्र’ लगायत पत्रपत्रिकामा काम गरेकी थिइन् ।

चलचित्र पत्रकारको रुपमा करियर शुरु गरेर चलचित्र पत्रकार संघको संस्थापक सदस्य भएर नेपालकै पहिलो महिला निर्देशक हुन सफल सुचित्रा श्रेष्ठले पनि यस सम्मानले आफ्नो कर्मलाई अगाडी बढाउन झनै प्रेरणा मिलेको बताईन् । कायर्यक्रममा बोल्दै उनले भनिन्,“महिला पत्रकारहरु औँलामा गन्न सकिने अवस्थामा पत्रकारिता गरेर आएको मैले आज यस क्षेत्रमा थुप्रै महिला दिदिबहिनीलाई देख्छु, जुन निकै सुखद छ ।”

विभिन्न आरोह अवरोहका बिच चलचित्र ‘प्रेम युद्ध’ निर्देशन गरेर उनी नेपालको पहिलो महिला निर्देशक बन्न सफल भएकी हुन् । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ अभिनेत्री आदरणीय बसुन्धरा भुषालले चलचित्र पत्रकारले इतिहासलाई यसरी नै खोतल्नुपर्छ भन्दै यो सम्मान निकै ओझपुर्ण भएको बताईन् । उनले चलचित्र पत्रकार संघ नेपालको महिला विभागलाई धन्यवाद दिँदै तीजको शुभकामना पनि व्यक्त गरिन् ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समिर बलामी, वरिष्ठ चलचित्र पत्रकार एवं कोरियोग्राफर जयन सुब्बा मानन्धर, सञ्चारकर्मी गीता अधिकारी, सञ्चारकर्मी सबी कार्की लगायतले तीजको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभाध्यक्ष ग्रहण गरेकी चलचित्र पत्रकार संघको महिला विभाग संयोजक दीपज्योति थापाले तीजलाई एउटा पर्वको रुपमा मात्र नमनाएर चलचित्र पत्रकारितामा योगदान पु-याउनुहुने अग्रजलाई पनि सम्मान मिलोस् भन्ने हेतुले यस कार्यक्रमको आयोजना गरेको बताईन् ।

उनले चलचित्र पत्रकारीतालाई अझै सुदृढ बनाउनुपर्ने र समयअनुसार सञ्चारकर्मीहरु पनि अपडेट हुनु जरुरी रहेकोमा जोड दिएकी थिईन् । कार्यक्रमलाई सञ्चारकर्मी सुष्मा श्री कार्कीले सहजीकरण गरेकी थिईन् ।