स्थानीय तहको चुनाव जेठ ४ गते गर्ने समझदारी

स्थानीय तहको चुनाव जेठ ४ गते गर्ने समझदारी


काठमाडौं, १८ माघ । सरकार र निर्वाचन आयोगबीच आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आज मङ्गलवार भएको छलफलमा आउँदो जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते चुनाव गर्ने प्रस्ताव गर्नुभएको थियो भने आयोगले पनि त्यही मितिमा चुनाव गर्न सकिने परामर्श दिएको थियो ।
छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै चुनावको तयारी अघि बढाउन आयोगलाई आग्रह गर्नुभएको छ । आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो । तर सत्तारुढ गठबन्धनभित्रको मतभेदका कारण सरकारले स्थानीय तहको चुनावको मिति तोक्न सकेको थिएन ।
गएको शनिवार बसेको गठबन्धनको बैठकले कानुनमा आवश्यक संशोधन गरेर भए पनि जेठमा चुनाव गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले त्यसबारे छलफल अघि बढाउनुभएको थियो । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आउँदो जेठ ५ गते सकिँदैछ । त्यसअघि नै स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।