तनावपूर्ण खेलमा नेपालले मोरिससलाई हरायो, ३ खेलाडीलाई ‘रेड कार्ड’

तनावपूर्ण खेलमा नेपालले मोरिससलाई हरायो, ३ खेलाडीलाई ‘रेड कार्ड’


काठमाडौं, १८ माघ । नेपालले मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले मोरिससलाई एक–शून्य गोलले हराएको हो । नेपालका लागि खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।
यस्तै नेपाली किपर किरण चेम्जोङले पेनाल्टी प्रहार बचाए । नेपालले विपक्षी खेलाडीलाई डीबक्समा लडाउँदा मोरिससले पाएको पेनाल्टी किरणले रोकेका हुन् । आजको खेलमा दुवै टोलीले पटक–पटक फउल गरे । खेलको दोस्रो हाफ भने केही तनावग्रस्त बनेको थियो । आजको खेलमा दुवै टोलीका खेलाडीले रेड कार्ड पाए । खेलको ७० औँ मिनेटमा मोरिसस र नेपाल १० खेलाडीमा सीमित भए । दुवै टोलीका खेलाडीले घम्साघम्सी गरेपछि मोरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । यस्तै नेपालका पुजन उपरकोटी पनि रातो कार्ड पाउँदै मैदानबाट गए । यस्तै रेफ्री नविन्द्र महर्जनले नेपालका टिम म्यानेजर मधुसदन उपाध्यायलाई पनि रातो कार्ड देखाए ।
यस्तै खेलको ७८ औँ मिनेटमा मरिसस नौ खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मोरिससका इम्यानुएल रातो कार्ड पाउँदै मैदान बाहिर गए । नेपालले मोरिसससँग दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि गएको शनिवार भएको खेल नेपालले एक–शून्यले जितेको थियो । नेपाललाई जिताउन दुई वर्षपछि टोलीमा फर्किएका विमल घर्तीमगरले गोल गरेका थिए ।