विमलेन्द्रको निवासमा पुगे शशांक र प्रकाशमान

विमलेन्द्रको निवासमा पुगे शशांक र प्रकाशमान


काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै सभापति पदका आकांक्षीहरुबीच भेटवार्ता हुने क्रम बढेको छ । भावी सभापतिमा आकांक्षा राख्दै आएका विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच सोमबार भेटवार्ता भएको छ ।

उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच छलफल भएको हो । निधि निवास मध्यबानेश्वरमा भएको छलफलमा महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका बारेमा कुराकानी भएको बताइएको छ । तीन नेताहरुबीच यसअघि पनि पटकपटक छलफल भइसकेको छ । कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच निरन्तर छलफल भए पनि नेतृत्वका लागि एक जनाको नाममा सहमति हुन सकेको छैन । १४ औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि भन्दै विमलेन्द्र, शशांक र प्रकाशमानबीच पटकपटक छलफल हुँदै आएको छ । नेतृत्वमा तीनै जनाको दावी छ । केही दिनअघि महामन्त्री कोइराला निवासमा भएको छलफलमा केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीभित्र भूमिका निर्वाह गर्ने र सर्वसम्मत नेतृत्वका लागि सभापतिका सबै आकांक्षीसँग छलफल गर्ने निर्णय गरेका थिए ।