होबार्ट, अष्ट्रेलिया ।
नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभा सम्पन्न भएको छ। शनिबार होबार्टस्थित डाँफ नेपाली इन्डियन रेष्टुरेन्टमा भएको एक कार्यक्रमकाबीच सोसाइटीले साधारण सभा सम्पन्न गरेको हो।
साधारण सभाबाट संसारराज चिमोरिया अध्यक्षमा निर्वाचित भएका छन्। सोसाइटीको नेतृत्वका लागि संसारराज चिमोरिया र बाबु न्यौपानेको उम्मेदवारी परेको थियो। सहमतिबाट नेतृत्व चयन नभएपछि निर्वाचन समितिले दुई उम्मेदवारकाबीच मतदान गराएको थियो।
मतदान प्रकियाबाट चिमोरिया बाबु न्यौपानेलाई पराजित गर्दे अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यस्तै कार्यसमितिको सदस्यमा पनि सहमति नभएपछि निर्वाचन प्रक्रियाबाट पाँच जना सदस्य निर्वाचित भएको छन्। बाँकी पदमा भने निर्विरोध भएको निर्वाचन समितिले केबीसी खबरलाई जानकारी दिएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा संसारराज चिमोरिया, उपध्यक्षमा आशिष आचार्य, सचिवमा सुजन भुसाल, कोषध्यक्षमा निर्मल अर्याल, सदस्यहरूमा चाँदनी उप्रेती, अनिल पाण्डे, मनोज घले, प्रकाश श्रेष्ठ र सत्यन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन्। गोपाल न्यौपाने, अर्जुन प्रसाईँ र बसन्त घिमिरे गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।
तास्मानियाको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली सोसाटी अफ तास्मानियाको साधारण सभामा उल्लेख्य उपस्थिति रहेको थियो। नवनिर्वाचित अध्यक्ष चिमोरियाले घरेलु हिन्सा, मानसिक स्वास्थ्य र तास्मानियामा रहेका दक्ष नेपाली कामदारले भोग्नु परेका समस्याका बारेमा राज्य सरकार र स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए। उनले नेपाली पाठशाला र संगीत सम्वादलाई दिर्घकालिन रुपमा अगाडी बढाउनका लागि पहल गर्ने बताए।
प्रतिक्रिया