मोरिससविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालको जित

मोरिससविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालको जित


काठमाडौं, १५ माघ । विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले पराजित गरेको छ । दशरथ रंगशालामा आज भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलो रोजाइमा अवसर दिए । उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाए ।
नेपालका लागि विमलको यो नवौँ गोल हो । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए ।
यस्तै यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलो रोजाईमा खेल्दा जगजित दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । शनिबारको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् ।
पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन् । यसैगरी सुनिल बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो । नेपालले दोस्रो हाफमा थप दुई गोल गर्ने अवसर गुमाएको थियो । अञ्जन विष्टको हेडर बारमा लागेर फर्किँदा जगजित श्रेष्ठको हेडर मोरिससका गोलकिपर कप्तान केभिनले बचाए ।
नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।