एकैदिन ६,८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

एकैदिन ६,८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु


काठमाडौं, १४ माघ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३९ जना कोरोना संक्रमित थपिएका छन् ।
यसैबीच काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा २१२, कैलालीमा १४७, सुनसरीमा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै झापामा ८६, बाँकीमा ७३, रुपन्देहीमा ६८, काभ्रेपलाञ्चोकमा ६५, चितवनमा ६३ र बागलुङमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै पर्वतमा ४४, कञ्चनपुरमा ४१, सिरहामा ३८, नुवाकोटमा ३५, मकवानपुरमा ३४, दाङमा ३३, तनहुँमा ३०, सर्लाहीमा २८, पाल्पामा २५, उदयपुरमा २४, स्याङ्जामा २३ तथा रसुवा र गोरखामा २२÷२२ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।