राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ताः निर्वाचन समयमै गर्न राष्ट्रपतिको सुझाव

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ताः निर्वाचन समयमै गर्न राष्ट्रपतिको सुझाव


काठमाडौं, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न आग्रह गरेकी छन् ।

राष्ट्रपति निवास शीतलनिवास पुगेका प्रधानमन्त्री देउवासँगको भेटमा राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्नुपर्ने बताएकी हुन् । ‘संविधानको भावनाबमोजिम समयमै स्थानीय निर्वाचन गर्नुपर्छ । अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्छ,’ भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भनेको उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने ।
जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे सबै दलहरुसँग परामर्श भइरहेको बताएका थिए । ‘संविधानको कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, संविधानको मर्म र भावनाबमोजिम समयमै निर्वाचन हुन्छ, यसबारे सबैसँग सल्लाह गरेरै निष्कर्षमा पुग्छौं,’ देउवाले भनेका थिए । भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच बुधबारमात्रै सम्पन्न राष्ट्रिय सभा निर्वाचन, संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक गतिविधिका विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ । ‘यो नियमित भेटघाट हो, खास विषयवस्तु केही थिएन,’ ढकालले भने, ‘प्रधानमन्त्रीज्यू दिउँसो ३ बजे आउनुभएको थियो, करिब एक घण्टा कुराकानी भयो ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्री देउवाले संसद् खुलाउने विषयमा निरन्तर पहल गरिरहेका छन् । देउवाले यसअघि पनि राष्ट्रपति भण्डारीलाई भेटेलगत्तै विपक्षी दलका नेता केपी ओलीसँग उनको निवास भक्तपुरको बालकोटमै पुगेर भेटेका थिए ।
देउवाले बिहीबारको भेटमार्फत स्थानीय निर्वाचन र संसद् सञ्चालनका विषयमा राष्ट्रपतिमार्फत दलहरुबीच समन्वयको प्रयास गरेको स्रोतको भनाइ छ । प्रतिपक्षी एमालेले प्रधानमन्त्री देउवाले बोलाएका सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएको छ ।