सिड्नी, अष्ट्रेलिया ।
सिड्नीमा एक नेपाली युवतीलाई कामको पहिलो दिन नै रक्सी खुवाएर बलात्कार गरेको आरोपमा वाईज क्लिनिंग एशफिल्डका आशिष् लुइँटेल पक्राउ परी एक लाख धरौटीमा रिहा भएका छन्।
प्रहरी हिरासतमा रहेका निजलाई एक लाख अष्ट्रेलियन डलर, करिब ८५ लाख नेपाली रुपैयाँ धरौटीमा अदालतले रिहा गर्न आदेश दिएको हो। उनको मुद्दाको अर्को सुनवाइ यसै महिनाको अन्त्यमा हुनेछ। के थियो घटनाक्रम ? सिड्नीमा नेपाली युवकले सञ्चालन गरेको क्लीनिङ कन्ट्रयाक्टर कम्पनीमा एडमिन अफिसरमा जागिरको विज्ञापन देखेर आवेदन दिएकी एक १८ वर्षीय नेपाली युवतीलाई लुइँटेलले कार्यालयमै बलात्कार गरेका थिए।
कामका लागि दिइएको आवेदन सफल भएको र कामका लागि बोलाएको पहिलो दिन नै काम पाएको खुशीयालीमा पार्टी गर्नुपर्छ भन्दै निजले युवतीलाई रक्सी पिलाएका थिए। गएको जुन महिनाको यो घटना दिउँसो १ बजे सुरु भएको थियो।
डेली मेलका अनुसार आज पार्टी हो कोही पनि राति १० बजेसम्म यहाँबाट जाँदैन भन्दै निजले टकिला सट अफर गरेका थिए भने आफूले रेड लेबल रक्सी पिएका थिए। साँझ ६ बजे घटनापछि युवती आफ्नो घरतर्फ जाने क्रममा निजले आफूले नै छोडिदिने अफर समेत गरेको अभियोगमा लेखिएको छ।
कार्यालयमा उक्त घटनाको बेला अर्को एक जना कर्मचारी समेत रहेको पत्रिकाले उल्लेख गरेको छ। निज अर्का युवकले भने युवतीप्रति सहानुभूति देखाएको र सघाएको लेखिएको छ। निज युवकले आशिषलाई यस्तो नगर्न भन्दै हप्काएको पनि बताइएको छ।
आशिषले युवतीलाई रक्सी लागेपछि भुईँमा लडाएर दुव्र्यवहार गरेका थिए। यसअघि तिम्रो ब्वाईफ्रेन्ड छ कि छैन ? म कस्तो लाग्यो ? भन्दै उनले सेक्सका लागि अभिप्रेरित गरेको समेत आरोप छ। ३१ वर्षीय निज लुइँटेल विवाहित हुन्। कार्यालयबाट बाहिर निस्केर घर पुग्नुअघि युवतीले आफ्नी दिदीलाई घटनाबारे जानकारी दिएको र यस लगत्तै प्रहरीलाई समेत खबर गरेकी थिइन्।
यसपछि बरउड प्रहरी स्टेशनबाट खटिएका प्रहरीले उनको बयान लिनुका साथै आरोपीलाई पक्राउ गरेका थिए। प्रहरी टोलीले भोलिपल्ट घटनास्थल पुगी त्यहाँबाट रगत, वीर्य लगायतका सबुत प्रमाणहरू कार्यालयको भुईँमा फेला पारेका थिए।
घटना अत्यन्तै संगीन भएपनि न्यूसाउथवेल्स अदालतमा आशिषका वकिलले यसअघि कुनै अपराधमा संलग्न नभएको र भागेर जाने अवस्था नरहेको जिकिर गर्दै निजलाई धरौटीमा छाड्न माग गरेका थिए।
प्रहरीले आशिषमाथि ईच्छाविपरित यौन सम्पर्क गरेको दुई वटा केश लगाइएको छ। आरोपी आशिषकी श्रीमती र अर्को एक महिलाले एक लाख डलर धरौटी बुझाएपछि निजलाई रिहा गरिएको हो।
प्रतिक्रिया