मदन भण्डारीको ठाउँ केपी ओलीले लिन खोजेको प्रचण्डको आरोप

मदन भण्डारीको ठाउँ केपी ओलीले लिन खोजेको प्रचण्डको आरोप


काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेमा विचार नै नभएको आरोप लगाउनुभएको छ । माओवादीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै दाहालले एमालेमा अहिले कुनै विचार र सिद्धान्त नै नभएको आरोप लगाउनुभएको हो । उहाँले एमालेमा मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद र सूर्य चिह्न मात्र रहेको बताउनुभयो । अहिले एमालेमा मदन भण्डारीको ठाउँमा केपी ओलीलाई लैजान खोजिएको र ओली मदन भण्डारी हुन खोजेको जिकीर गर्नुभयो ।

अध्यक्ष दाहालले एमालेमा विचार नै नभएको भन्दै त्यहाँ विचारको बहस नै नहुने गरेको टिप्पणी गर्नुभयो । ‘एमालेमा विचार र बहस हुँदैन, त्यहाँ त स्वार्थका लागि मिल्छन्’, उहाँले भन्नुभयो, ‘देख्नु भएन ती दोस्रो तहका भनिएका १० भाइ, उनीहरुले हामीलाई झुक्याए क्या।’ एमालेका दोस्रो तहका नेताहरुलाई फकाउन आफूहरुले ठूलो मिहिनेत गरेको उहाँको भनाइ थियो । ‘तिनीहरुलाई फकाउन नारायणकाजी र मैले धेरै मेहनत गरेका थियौं’, उहाँले भन्नुभयो, ‘तर तिनीहरुको विचार र सिद्धान्त त्यही सूर्य चिन्हको लोगोमा आत्मसमर्पण गरेर टुंगियो ।’ दाहालले एमालेको पहिलो विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिनुभयो । उक्त मेलाले माओवादीलाई सिध्याउने निष्कर्ष निकालेको पनि उहाँको भनाइ थियो ।