पदीय जिम्मेवारी पूरा गर्न सचेत छुः सभामुख सापकोटा

पदीय जिम्मेवारी पूरा गर्न सचेत छुः सभामुख सापकोटा


काठमाडौं, १८ असोज । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्न सचेत रहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद्मा अवरोध गरिरहेका बेला सभामुख सापकोटाले भने आफूलाई पदीय जिम्मेवारी के हो भन्ने थाहा भएको र त्यो पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको हो । संघीय संसद् सचिवालय कर्मचारी युनियनले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर सोमवार सिंहदरबारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले इतिहासले आफूलाई संघीय संसद्को नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै त्यो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताउनुभयो ।

सभामुख सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धतासमेत दोहो¥याउनुभयो । उहाँले संसद्को कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभयो । ‘हामीले जुन प्रण गरेका छौं– संघीय संसद्लाई जीवन्त र जनमुखी बनाउने, त्यो सूत्र वाक्यलाई मैले त सधैँभरि दिल र दिमागमा राखेर कार्यरूप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । संघीय संसद्को कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔँ । हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ । संसद् सचिवालयको तर्फबाट पनि पहल गरिएको छ । अहिले मलाई इतिहासले संघीय संसद्को नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ । म यो पदका लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु,’ उहाँले भन्नुभयो ।

सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको बताउनुभयो । उहाँले दर्शन शास्त्रलाई उद्धृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणासमेत राख्नुभयो ।