विदेशमा बस्ने नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन माग गर्दै दूतावासमार्फत ज्ञापन

विदेशमा बस्ने नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन माग गर्दै दूतावासमार्फत ज्ञापन



क्यानबेरा, अष्ट्रेलिया ।

नेपालभन्दा बाहिर रहेका नेपालीहरुलाई नागरिकता, पासपोर्ट र परिचय पत्रको आधारमा मतदानमा सहभागी हुने व्यवस्था गर्न प्रवासी नेपाली मञ्चले माग गरेको छ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको पहलमा विश्वभरमा नेपाली दूतावास रहेका देशहरुमा दूतावासमार्पmत परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई ज्ञापन बुझाइएको हो । नेपालमा नेकपा एमालेको शुभेच्छुक संगठन प्रवासी नेपाली मञ्चले विश्वभर रहेको आफ्नो सञ्जालमार्फत माग राखेको हो ।

अष्ट्रेलियामा पनि क्यानबेरामा रहेका दूतावासमार्फत ज्ञापनपत्र बुझाइएको छ । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशी नेतृत्वमा क्यानबेरा पुगेको टोलीले लिखित ज्ञापनपत्र कार्यवाहक राजदूत दुरपदा सापकोटालाई हस्तान्तरण गरेको छ ।

उक्त अवसरमा कार्यवाहक राजदूत सापकोटालाई नेपालमा अदालतले समेत धेरै अगाडि विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न दिनु भन्ने आदेशलाई कार्यान्वयन गरिने आशा राखेर आफुहरु आएको अध्यक्ष जोशीले जानकारी गराएका थिए । प्रत्युतरमा सापकोटाले आफुले तत्कालै यी मागहरुलाई केन्द्रमा पठाउने र सबै नेपाली नागरिकले आफ्नो भावी नेतृत्व चुन्न पाउने अधिकारबाट बञ्चित हुन नपर्ने अवस्था ल्याउने कुरामा सदैव आफ्नो पनि समर्थन रहने बताएकी थिइन् ।

कार्यक्रममा सहभागी हुन सिड्नीबाट टोली नै क्यानबेरा पुगेको थियो ।

यो अभियानबारे जानकारी दिँदै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स भित्र्याउने प्रवासीहरुलाई देशको नेतृत्व निर्माणमा चाहीँ बाहिर राख्नु अन्याय भएकोले आफुहरुले अभियान थालेको जानकारी दिए । नेपालमा निर्वाचन आयोगलाई र परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापनपत्र बुझाइनेछ ।

पाण्डेका अनुसार कोरिया, अष्ट्रेलियासहित विश्वका धेरैजसो देशमा सोमबार नै ज्ञापनपत्र बुझाइसकिएको छ ।

“समय फरक फरक छ । यसैकारण कसैले आजै बुझाउनुभयो कसैले भोलिसम्ममा यो काम सक्नुहुनेछ । हामी निरन्तर दबाब दिएर यस पटक विदेशमा बस्ने नेपालीको मतदाधिकार सुरक्षित गर्ने अदालतको निर्णयलाई कार्यान्वयन गराउनेछौं ।” पाण्डेले भने ।

पाण्डेले भने, “अमेरिका, अष्ट्रेलिया लगायत विश्वका देशहरुले निर्वाचनको बेला आफ्नो देश बाहिर रहेका नागरिकहरुलाई भोट हाल्न पाउने सुनिश्चित गरेका हुन्छन् । आफ्नो दूतावास या महावाणिज्यदूत कार्यालयहरुमा गएर भोट हाल्न पाउने गरिन्छ । अझ पोष्टल मतको समेत व्यवस्था गरिएको हुन्छ । यसैकारण नेपालमा यो व्यवस्था गर्न नसकिने कुरै छैन । खाँचो प्रतिबद्धताको मात्र हो ।”