अष्ट्रेलियामा नोभाभ्याक्स खोपलाई मिल्यो स्वीकृति, फेब्रुअरीबाट लगाउन पाउने

अष्ट्रेलियामा नोभाभ्याक्स खोपलाई मिल्यो स्वीकृति, फेब्रुअरीबाट लगाउन पाउने



मेलबर्न, अष्ट्रेलिया ।

अमेरिकी प्रविधिमा उत्पादित नोभाभ्याक्स खोपलाई अष्ट्रेलियामा लगाउने स्वीकृति प्राप्त भएको छ । लामो समयदेखि यसका लागि प्रयासहरु भएका थिए । यो खोप १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई लगाउन सकिनेछ ।

अष्ट्रेलियन टेक्नीकल एड्भाईजरी ग्रुप अन ईम्युनाईजेसन एटीएजीआईले स्वीकृति दिएसँगै आगामी फेब्रुअरी महिनाको अन्त्यबाट यो खोप अष्ट्रेलियाका नागरिकहरुले लगाउन सक्नेछन् ।

दुई डोज खोप लगाउनुपर्ने र एउटा खोपबाट अर्कोको अन्तर तीन साता मात्र हुने बताइएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले फेब्रुअरी २१ तारिखबाट यो उपलब्ध हुने बताएका छन् । हाल अष्ट्रेलियाले ५ करोड १० लाख खोप किन्ने सम्झौता गरेको छ ।

सबै खोप अष्ट्रेलियालाई नचाहिए पनि केही खोप अनुदानमा मित्रराष्ट्रहरुमा दिने तयारी छ । नोभाभ्याक्स नै लगाउने भनेर केही व्यक्तिहरुले प्रतिक्षा गरिरहेका कारण यो खोपलाई स्वीकृति पाएसँगै अब अष्ट्रेलियाको खोपदर पनि बढ्ने अपेक्षा छ ।

यससँगै अष्ट्रेलियामा स्वीकृत खोपको संख्या पाँच पुगेको छ ।
फाईजर
एस्ट्राजिंका
मोडर्ना
जेन्सन
नोभाभ्याक्स

यस्तै अष्ट्रेलियाले यहाँ भ्रमण गर्ने व्यक्तिहरुले लगाउनसक्ने खोपको प्रकार पनि पाँच नै रहेको जनाएको छ । जसमा सिनोभ्याक, भारतमा निर्मित एस्ट्राजिंका कोभिशिल्ड, सिनोफार्मा चीन, कोभ्याक्सिन, स्पुतनिक ।