शेयर बजार आज पनि घट्यो, कारोबार रकम चार अर्ब पनि पुगेन

शेयर बजार आज पनि घट्यो, कारोबार रकम चार अर्ब पनि पुगेन


काठमाडौं, १८ असोज । साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । हिजो आइतवार ५५ अंकभन्दा धेरैले घटेको नेप्से आज सोमवार ६ दशमलव ६८ अंकले ओरालो लागेर २ हजार ५ सय ७० दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूहको शेयर बढे पनि अरू सबै समूहको शेयर घटेको छ । जलविद्युत् समूहको शेयर ६५ अंकले, फाइनान्सको ५२, विकास बैंक समूहको ८६ र व्यापार समूहको शेयर २० अंकले घटेको छ । आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आशा लघुवित्त, सपोर्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २७ वटा कम्पनीका ७६ लाख ५३ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।