अष्ट्रेलिया आउने अन्तर्राष्ट्रिय यात्रीका लागि कोभिड परीक्षणको दायरा थप खुकुलो बनाइँदै !

अष्ट्रेलिया आउने अन्तर्राष्ट्रिय यात्रीका लागि कोभिड परीक्षणको दायरा थप खुकुलो बनाइँदै !



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलिया आउने दुबै डोज कोरोना विरुद्धको खोप लगाएका अन्तर्राष्ट्रिय यात्रीहरुलाई कोभिड १९ को पीसीआर परीक्षण गराउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।

यो सप्ताहन्तबाट अष्ट्रेलियाले २४ घण्टाभित्र गरिएको एन्टीजेन परीक्षणलाई समेत मान्यता दिन लागेको हो । स्वास्थ्यमन्त्री ग्रेग हन्टले यात्राअघि २४ घण्टाभित्र गरिएको र्यापीड एन्टीजेन टेष्टको नतिजालाई स्वीकार गरिने जानकारी दिएका हुन् ।

एक विज्ञप्ति मार्फत अष्ट्रेलियामा आन्तरिक रुपमा कोभिड लागेको छ कि छैन भन्ने परीक्षणका लागि एन्टीजेनको प्रयोग गरिएझैं अन्तर्राष्ट्रिय यात्रीका लागि पनि यही विधि लागू गर्न लागिएको हो ।

यस्तै कोभिड लागेका व्यक्तिहरुले पनि अब १४ दिनको सट्टा मात्र ७ दिनपछि कोभिडको नेगेटिभ रिपोर्ट पेश गरेर यात्रा गर्न सक्नेछन् । अहिले अष्ट्रेलियाका विभिन्न राज्यमा लागू भएका नियमहरुसँग अन्तर्राष्ट्रिय यात्रीको प्रतिक्षाको समय समेत मिलाउनका लागि यस्तो गरिएको बताइएको छ । यो नियम शनिबार मध्यरात १ बजेबाट लागू हुनेछ ।