र्‍यापिड एन्टीजेन टेष्ट किटमा कालोबजारी गरे एक करोड डलरसम्म जरिवाना

र्‍यापिड एन्टीजेन टेष्ट किटमा कालोबजारी गरे एक करोड डलरसम्म जरिवाना

अष्ट्रेलियन बजारमा एउटै किटको मूल्य एक हजार डलरसम्म


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा यतिबेला कोभिड १९ कोरोनाको परीक्षणका लागि चाहिने र्‍यापिड एन्टीजेन टेष्ट किटको अभाव छ । हालै मात्र भिक्टोरिया सरकार र न्यूसाउथवेल्स सरकारले ठूलो मात्रामा यस्ता किट भित्र्याएको भएपनि यसअघिदेखि नै बजारमा बढी मूल्य लिएर किट बेचेको पाइएको थियो ।

यसै विषयलाई लिएर उपभोक्ताहरुको गम्भीर चासो र गुनासो आएपछि अष्ट्रेलियन कम्पीटिसन एण्ड कन्सुमर कमिशनका अध्यक्ष रोड सिम्सले बजारमा एउटै किटको मूल्य एक हजार डलरसम्म राखेको पाइएको र यस्तो किनबेच अनलाईनमार्फत भएको देखिएको बताएका छन् । उनले चेतावनी दिँदै अनुसन्धान थालिएको र यदि कालोबजारी गरेको पाइएमा त्यस्ता व्यक्ति वा कम्पनीहरुलाई १० मिलियन डलर अर्थात एक करोड डलर सम्म जरिवाना हुने बताएका छन् ।

भिक्टोरियामा सरकारले आफ्ना बासिन्दाहरुलाई निःशुल्क एन्टीजेन टेष्ट किट उपलब्ध गराउने तयारी गरेको छ । उता, न्यूसाउथवेल्समा पनि अष्ट्रेलियन नागरिकहरुले १० वटासम्म टेष्ट किट निःशुलक प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

सोमबार मेलबर्न आइपुगेको परीक्षण किटमध्ये सुरुवातमा अत्यावश्यक क्षेत्रमा काम गर्नेहरु, सामूदायिक समूहहरु तथा यसअघि नै कोरोना लागेका कारण उपचार गराइरहेकाहरुलाई पहिलो चरणमा टेष्ट किट वितरण गरिनेछ । ४ करोड ४० लाख टेष्ट किट अर्डर गरेकोमा भिक्टोरियाले पहिलो खेपमा आएकोमध्ये ३० लाख प्राथमिकताका आधारमा वितरण गरिँदैछ ।