‘अदालतको आदेश मान्छु’ : नोभाक जोकोभिच, अष्ट्रेलियन ओपन खेल्न नपाउने

‘अदालतको आदेश मान्छु’ : नोभाक जोकोभिच, अष्ट्रेलियन ओपन खेल्न नपाउने



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको सर्वोच्च अदालतको फुल बेञ्चले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गर्ने अध्यागमन मन्त्री एलेक्स हकको निर्णयलाई सदर गरिदिएको छ ।

मन्त्रीको निर्णय विरुद्ध सर्वोच्च अदालत गएका जोकोभिचले यस अवधिमा लागेको सरकारी वकिलको खर्च समेत भर्नुपर्नेछ । सर्वोच्च अदालतको यो निर्णयसँगै अब अष्ट्रेलियन ओपन खेल्नका लागि तयारी अवस्थामा रहेका जोकोभिचले प्रतियोगिता मात्र गुमाउने छैनन् उनलाई आर्थिक भार पनि पर्ने देखिएको छ ।

निर्णयलगत्तै एक विज्ञप्ति जारी गर्दै जोकोभिचले आफु केही समय मौन बस्ने र आराम गर्ने बताएका छन् । उनले अदालतको निर्णयले आफु स्तब्ध भएको बताएपनि यसलाई मान्ने भन्दै अष्ट्रेलियाका अन्य निकायहरुसँग सहकार्य गर्दै स्वदेश फर्कने धारणा सार्वजनिक गरेका छन् ।

उनले गएको साता सम्पूर्ण विश्वको ध्यान नै आफुमाथि आएको भन्दै अब प्रतियोगितामा सबैको ध्यान जाने विश्वास पनि व्यक्त गरे । उनले अष्ट्रेलियन ओपनमा सहभागी खेलाडीहरुलाई शुभकामना दिँदै आफ्नो परिवार, साथीहरु, टिम, सर्वियाली जनता र प्रशंसकहरुलाई यस्तो खराब समयमा पनि आफुलाई साथ दिएको भन्दै धन्यवाद दिएका छन् ।