भिक्टोरियाका होटलहरुलाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने तयारी

भिक्टोरियाका होटलहरुलाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने तयारी


मेलबर्न, अष्ट्रेलिया । 

अष्ट्रेलियामा जनसंख्याको हिसाबले दोश्रो ठूलो राज्य भिक्टोरियाले आफ्ना अस्पतालहरुमा बिरामीको संख्या बढेसँगै अब क्वारेन्टीन होटलहरुलाई नै उपचार गर्ने थलोको रुपमा प्रयोग गर्ने भएको छ । हाल भिक्टोरियामा ९ सय ७६ जनाले अस्पतालमा उपचार गराइरहेका छन् भने जसमध्ये ११२ जना आईसीयूमा छन् त्यस्तै ३० जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् । आईसीयूमा रहेकामध्ये अधिकांश कोरोनाविरुद्धको खोप नलगाएकाहरु छन् । मेलबर्नका दुई क्वारेन्टीन होटलहरु सिटीमा रहेको पुलम्यान र ईपिंगको मन्त्रालाई यसरी उपचार केन्द्रकको रुपमा प्रयोग गर्ने तयारी छ । अस्पतालमा उपचार गराएपछि तत्कालै घर पठाउन नसकिने बिरामीहरुलाई यहाँ स्थानान्तरण गरिनेछ । यी ठाउँमा उपचार गर्नका लागि अस्पतालकै कर्मचारी खटिनेछन् । अर्को साताबाट बिरामीहरुलाई यी होटलहरुमा सार्ने प्रक्रिया सुरु गरिनेछ । 

कार्यवाहक स्वास्थ्यमन्त्री जेम्स मर्लिनोले आज जारी गरेको तथ्यांकमा आईसीयूमा उपचार गराउनुपर्ने गरी बिरामी भएकामध्ये ५० प्रतिशतले खोप नै नलगाएको पाइएको छ । हाल राज्यमा ९४ प्रतिशत जनसंख्याले खोप लगाइसकेको छ । बाँकी ६ प्रतिशतमध्येलाई कोरोना लाग्ने यसले आईसीयूमै पुर्याउने तथ्यांक सार्वजनिक भएको छ । 

हाल अष्ट्रेलियामा एक पटक कोभिड लागेपछि फेरि लाग्ने सम्भावना कम हुन्छ भन्दै ओमिक्रोन कम घातक भएकोले कोभिड पार्टी गर्ने भन्दै कोरोना लागेकाहरुसँगै बसेर पार्टी गर्ने गरेको खबर फैलिएपछि यसलाई मर्लिनोले दुखद भएको बताएका छन् ।