रकगायक रविन तामाङको अन्त्येष्टि आइतबार गरिने

रकगायक रविन तामाङको अन्त्येष्टि आइतबार गरिने


काठमाडौँ ।

रकगायक रविन तामाङको अन्त्येष्टि आइतबार गरिने भएको छ। तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

छोरी फ्रान्सबाट आइपुग्न समय लाग्ने भएकाले आइतबार अन्त्येष्टि तय भएको जनाइएको छ। उनीकी दुई छोरी फ्रान्समा बस्दै आएकी छन्।

मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ चिसेनीस्थित आफ्नै निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ।

गायक रविन तामाङले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन्। फरक शैलीको गायन र प्रस्तुतिले धेरै रक संगीतप्रेमीबीच उनले अमिट छाप छोडेका छन्। गायक रविनले अघिल्लो वर्ष अष्ट्रेलिया टूर समेत गरेका थिए। एक महिना लामो अष्ट्रेलिया टूर अन्तर्गत डार्विनको नेपाल फेष्टिभलसहित विभिन्न शहरमा उनले कन्सर्ट दिएका थिए।

अभिनयमा समेत हात हालेका गायक तामाङले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन्। उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए। उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन्।