उत्तर कोरियाद्वारा ‘हाइपरसोनिक मिसाइल’ परीक्षण

उत्तर कोरियाद्वारा ‘हाइपरसोनिक मिसाइल’ परीक्षण


काठमाडौं, १३ असोज । उत्तर कोरियाले मंगलबार एक हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताएको छ । यसअघि जापान र दक्षिण कोरियाका अधिकारीले उत्तरले मिसाइल परीक्षण गरेको जनाएको थिए तर उत्तर कोरियाले भने आधिकारिक रूपमा त्यसबारे जानकारी दिएको थिएन ।

उत्तर कोरियाले परीक्षण गरेको मिसाइलको नाम ‘होन्सोङ–८’ रहेको बताइएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार यो मिसाइल पञ्चवर्षीय सैन्य योजनामातहत बनाइएको हो । उत्तर कोरियाको नयाँ हतियार प्रणालीमा ‘सबैभन्दा ५ महत्त्वपूर्ण हतियारमध्ये’ यो पनि एक भएको बताइएको छ । यसलाई उत्तरले रणनीतिक हतियारका रूपमा लिइएको छ । कडा प्रतिबन्धका बीच पनि उसले हतियार बनाइरहेको छ ।

उत्तर कोरियाले एक महिनाभित्र ३ वटा मिसाइलको परीक्षण गरिसकेको छ । यसभन्दा पहिले उसले एउटा क्रुज र अर्को ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको थियो । यसै वर्षको जनवरीमा भएको सेनाको बैठकमा सर्वोच्च नेता किम जोङ उनले वैज्ञानिकहरूलाई हाइरसोननिक हतियार विकास गर्न निर्देशन दिएका थिए । उत्तर कोरियाले मिसाइल परीक्षण गर्नुपूर्व आफू दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको थियो ।