मूल्यवृद्धि सरकारी नियन्त्रणभन्दा बाहिर !

मूल्यवृद्धि सरकारी नियन्त्रणभन्दा बाहिर !


काठमाडौं, २९ पुस । मुलुकको मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर पुगेको छ । चालू आर्थिक वर्षको मङ्सिरमा मूल्य वृद्धि सात प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्षको मङ्सिर महिनामा दुई दशलमव ९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर सात प्रतिशत नाघेको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष मङ्सिरको तुलनामा २०७८ मङ्सिरमा घिउ तथा तेलको मूल्य २८ दशमलव ५२ प्रतिशतले बढेको छ । यस्तै यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्य वृद्धि भएको छ ।
बढ्दो मूल्य वृद्धि, उच्च आयात र घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र थप अप्ठ्यारोमा परेको देखिएको छ । चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मङ्सिरसम्ममा रेमिट्यान्स ६ दशलमव आठ प्रतिशतले घटेको छ । मङ्सिरसम्म तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिकमा रेमिट्यान्स वृद्धि दर सात दशमलव ५ प्रतिशतले घटेकोमा मङ्सिरमा केही सुधार देखिएको हो ।
यस्तै मङ्सिरसम्ममा देशको शोधनान्तर स्थिति अर्थात् भित्रिने र बाहिरिने रकमबीचको अन्तर एक खर्ब ९५ अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्लो वर्षको मङ्सिरसम्ममा एक खर्ब ६ अर्ब रुपैयाँले बचतमा थियो ।
यस्तै देशको चालु खाता घाटा तीन खर्ब रुपैयाँ नाघेको छ । गएको वर्षको मङ्सिरसम्ममा १९ करोड ६६ लाख रुपैयाँ मात्रै घाटामा थियो । साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा विदेशी मुद्राको सञ्चिति एक अर्ब ७२ करोड डलरले घटेको छ । मङ्सिरसम्म आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने एक खर्ब दुई अर्ब ९२ करोड रहेकाले पाँच महिनामा व्यापार घाटा सात खर्ब ३५ अर्ब पुगेको छ ।